TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jan 12, 2026 · Swadesh

राइजिङ स्टार यू–१२ क्रिकेट माघ १ देखि

राइजिङ स्टार यू–१२ क्रिकेट माघ १ देखि

काठमाडौं। बाल क्रिकेटको विकास तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता माघ १ गतेदेखि माघ २८ गतेसम्म काठमाडौँको सिफल ग्राउण्डमा सञ्चालन हुनेछ।


आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अनुसार प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहनेछ। तीमध्ये ८ टिम उपत्यका बाहिरका रहनेछन् भने अन्य टोली उपत्यका भित्रका हुनेछन्। जिल्ला स्तरका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको आयोजकले जनाएको छ।


सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको घोषणा गर्दै आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अध्यक्ष सुनिल मान अमात्यले नेपाललाई भविष्यमा टेस्ट राष्ट्र बनाउने लक्ष्यका साथ यस्ता उमेर समूहका प्रतियोगिता आयोजना गरिएको बताए। उनले यस्ता प्रतियोगिताले उमेर समूहका क्रिकेटर उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।


प्रतियोगितालाई अनुपम फुडल्याण्डले मुख्य प्रायोजन गरेको छ। पत्रकार सम्मेलनमा प्रायोजक अनुपम फुडल्याण्डका प्रबन्ध निर्देशक मधु पन्थीले उमेर समूह क्रिकेट विकासमा आयोजकले चालेको कदमलाई साथ दिन प्रायोजन गरिएको बताए। यस्तै, प्रतियोगिताका टेक्निकल निर्देशक रवीन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी गराए।


प्रतियोगिताको उत्कृष्ट ९० खेलाडी छनोट गरेर ६ वटा टोली बनाइने र उनीहरुलाई सिंगल राउण्ड रोबिन फर्म्याटमा सेतो जर्सीमा खेलाइने आयोजकले घोषणा गरेको छ । 


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु. ३०,००० र द्वितीय पुरस्कार रु. २०,००० तोकिएको छ। साथै, म्यान अफ द सिरिजलाई किटब्याग, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट तथा उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ।


आयोजकका अनुसार राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिताले भविष्यका क्रिकेट प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →