← समाचारमा फर्कनुस्
Football Nov 20, 2023 · Nepalsports

नेपाललाई कमजोर प्रतिस्पर्धी मानेका छैनौँ : यमनी प्रशिक्षक

नेपाललाई कमजोर प्रतिस्पर्धी मानेका छैनौँ : यमनी प्रशिक्षक

यमन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपाललाई कमजोर प्रतिस्पर्धीको रुपमा नलिएको बताएका छन्। फिफा विश्वकप २०२६ र एएफसी एशियन कपको प्रारम्धिक छनोटअन्तर्गत दोस्रो चरणको खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नुअघि उनले यूएईसँग सम्मानजनक प्रदर्शन गरेकाले नेपाललाई कमजोर प्रतिस्पर्धीको रुपमा नलिएको बताएका हुन्।  

यमनले घरेलु टोली नेपालसँग मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बेलुका ७ बजे सामना गर्दै छ। नेपाल र यमन समूह 'एच' मा रहेका छन्। नेपालसँग खेल्न सहज नहुने पनि उनले बताए।

"नेपालले लाओसलाई कसरी हराएर दोस्रो चरण पुगेको थियो त्यो हामीले हेरेका छौँ। चार दिन अगाडि यूएईसँग पनि नेपालले राम्रो खेल्यो। टोली एकदमै राम्रो छ। त्यसैले नेपालसँग खेल्न सजिलो हुनेछैन," उनले भने, "त्यसैले हामीले नेपाललाई सहज रुपमा लिएका छैनौँ।" नेपालले लाओसलाई समग्रमा २-१ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो। श्रीलंकालाई समग्रमा ४-१ गोलअन्तरले पराजित गर्दै यमन दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४-० गोलअन्तरले पराजित भएको थियो। 

यमन पनि दोस्रो चरणको पहिलो खेलमा बहराइनसँग २-० गोलअन्तरले पराजित भएको थियो। नेपाल शुक्रबार स्वदेश फर्किएको थियो। यमन भने आइतबार बिहान आउने तलिका रहेपनि प्रविधिक समस्याको कारण बेलुका मात्रै काठमाडौँ आइपुगेको हो। त्यसैले टोली थकित रहेको मुख्य प्रशिक्षक सुकोपले जानकारी दिए। यद्यपि, मंगलबारको खेल बेलुका ढिला भएको कारण आफूहरूलाई कुनै समस्या नरहेको उनले बताए।  

"हम्माद विमानस्थलमा हामी साढे सात घण्टा रोकिन पर्‍यो। त्यसैले काठमाडौँ आइपुग्न समय लाग्यो। यहाँसम्म आइपुग्दा सबै खेलाडी थकित भइसकेका थिए। तर, बेलुका ७ बजेदेखि खेल भएको कारण हामीलाई कुनै समस्या छैन। खेलाडीहरू मनोवैज्ञानिक रुपमा तयार छन्। आज नै अन्तिम तयारी गर्छौँ," उनले भने।

यता, यमनका कप्तान मुदिर अब्दुराबुले पनि नेपालविरुद्ध खेल्न समस्या नहुने बताए। ८० प्रतिशतभन्दा बढी खेलाडडी अनुभवी रहेको कारण नेपालविरुद्ध सुधारिएको प्रदर्शन गर्ने उनले बताए। "टोलीमा अनुभवको कमी छैन। पुराना र अनुभवी खेलाडी छन्। बहराइनविरुद्ध केही गल्ती भएको थियो। त्यसलाई भोलि नेपालविरुद्ध हुने खेलमा सुधार गर्नेछौँ," उनले भने। 

समूह विजेता र दोस्रो हुने टोलीले विश्वकप छनोटको तेस्रो चरणका साथै २०२७ एशियन कपमा सोझै स्थान बनाउने छन्। त्यसैले पनि नेपाल र यमनका लागि मंगलबार हुने खेल निकै महत्त्वपूर्ण रहने नेपाली राष्ट्रिय टोलीका कप्तान किरणकुमार चेम्जोङले बताए। यूएईविरुद्धको नतिजालाई बिर्सिसकेकाले अर्को चरणमा जान यमनविरुद्ध जित्नैपर्ने दबाब रहेको उनले बताए।

"हामीले युएईविरुद्धको खेल दिमागमा राखेका छैनौँ, त्यस खेल बिर्सिसकेका छौँ। स्वदेश फर्केपछि राम्रो अभ्यास गरेका छौँ, खेलाडीहरू मनोवैज्ञानिक रुपमा बलिया छन् र खेल्न तयार छन्," उनले भने, "अर्को चरणमा जाने हो भने भोलिको खेल एकदमै महत्त्वपूर्ण छ। हामीलाई जित्नैपर्ने दबाब छ।"

यमनविरुद्धको खेलमा मिडफिल्डर लाकेन लिम्बु अनुपस्थित रहनेछन्। यूएईविरुद्धको खेलमा उनी चोटका कारण १०औँ मिनेटमै मैदानबाट बाहिरिएका थिए। यता, रक्षक अनन्त तामाङले भने यमनविरुद्धको खेलमा पुनरागमन गर्ने छन्। उनले चोटका कारण यूएईविरुद्धको खेल गुमाएका थिए। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफ्नो टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको बताए। यद्यपि, उनले यमनविरुद्ध तीन अंकका लागि खेल्ने बताए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →