लियोनेल मेसीः विश्वकपका कीर्तिमानहरुमा हक जमाउँदै र थप पछ्याउँदै

काठमाडौं । अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को जित हासिल गरेको खेलमा ह्याट्रिक ठोकेसँगै फिफा विश्वकप इतिहासमा अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीको नाममा सर्वाधिक गोलको कीर्तिमान लेखिएको छ ।
जर्मनीका मिरोस्लाभ क्लोजले १२ वर्षअघि जर्मन विश्वकपमा २ गोल गर्दै विश्वकप इतिहासकै सर्बकालिन उच्च गोलकर्ताका रुपमा १६ गोलका साथ आफ्नो नाम लेखाएका थिए । १२ वर्षमा खोलो फर्काउँने क्रममा मेसीले अल्जेरियाविरुद्ध शानदार ह्याट्रिक गर्दै विश्वकप इतिहासमा आफ्नो नाममा पनि १६ गोल पुर्याए । अब विश्वकपमा सर्वाधिक गोल गर्नेको सूचिमा क्लोजसँग मेसीले बराबरी गरेका छन् ।
क्लोजले विश्वकपमा कायम गरेको अर्को कोसेढुंगासँग पनि मेसीले बराबरी गरेका छन् । यसअघि जर्मन स्ट्राइकरको नाममा रहेको विश्वकपका खेलमा १७ जित हासिल गर्ने कीर्तिमानमा पनि मेसीले बराबरी गरे ।
३८ वर्ष ३५७ दिनको उमेरमा मेसी विश्वकपमा ह्याट्रिक गर्ने इतिहासकै पहिलो खेलाडी बने । यसअघि विश्वकपको खेलमा ह्याट्रिक गर्ने पाको खेलाडीको कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा थियो । रोनाल्डोले विश्वकप २०१८ मा स्पेनविरुद्धको खेलमा ३३ वर्ष १३० दिनको उमेरमा ह्याट्रिक गरेका थिए ।
अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्नेको सूचिमा यसअघि नै मेसीको नाम सबभन्दा अगाडि थियो । उनीपछि अर्जेन्टिनाका ग्याब्रिअल बाटिस्टुटा (१०), डिएगो म्याराडोना (८), ग्विलेर्मो स्टाबिल (८), मारियो केम्पेस (६) र गोन्जालो हिग्विन (५) छन् ।
अल्जेरियाविरुद्धको यो ह्याट्रिकपछि मेसीको नाममा अर्को कीर्तिमान पनि बनेको छ । त्यो हो, दक्षिण अमेरिकी महादेशबाटै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा उनले आफ्नो नाम लेखाए । यो कीर्तिमान यसअघि ब्राजिलका रोनाल्डोको नाममा १५ गोलका साथ थियो । रोनाल्डोको विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान सन् २०१४ मा क्लोजले तोडेका थिए ।
केन्सास सिटीमा अल्जेरियाविरुद्ध २ गोल मेसीले लामो दुरीबाट गरेका थिए । जुन विश्वकपमा पेनाल्टी बक्सबाहिरबाट उनले गरेको पाँचौं र छैटौं गोल थिए । यसअघि विश्वकपमा पेनाल्टी बक्सबाहिरबाट सर्वाधिक गोल गर्ने कीर्तिमान ब्राजिली लेजेन्ड रिभेलिनोको नाममा थियो । रिभेलिनोले पेनाल्टी बक्सबाहिरबाट ५ गोल गरेका थिए । मेसीले यसअघि लामो दुरीबाट सन् २०१४ मा बोस्निया हर्जगोभिना, इरान र नाइजेरिया तथा कतार २०२२ मा मेक्सिकोविरुद्ध गरेका थिए ।
अल्जेरियाविरुद्धको खेलका लागि मैदान उत्रिनेवित्तिकै अर्जेन्टिनी कप्तानको नाममा कम्तिमा एक दिनका लागि भए पनि अर्को कीर्तिमान लेखिएको थियो । उनी बुधबार बिहानको खेलसँगै विश्वकपका ६ फरक संस्करणमा खेल्ने एक्लो खेलाडी बने । उनीसँगै यसअघि नै ५ पटक विश्वकप खेलिसकेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बिहीबार राती कंगोसँग खेल्नेछन् । रोनाल्डोको हकमा पनि मैदान उत्रिएको खण्डमा त्यो लगातार छैटौं विश्वकप हुनेछ । यसअघि एन्टोनियो कार्भाहल, लोथर म्याथुज, राफा मार्क्वेज र आन्द्रियास ग्वाडार्डोले ५ विश्वकप खेल्ने सफलता हालि गरेका थिए ।
मेसीको नाममा बुधबार बनेका कीर्तिमान यतिमै सीमित रहेनन् । कतार २०२२ को फाइनलमा विश्वकपको २६ औं खेल खेल्दै लोथर म्याथुजको कीर्तिमान तोडेका उनको अब विश्वकपमा खेलसंख्या २७ पुगिसकेको छ । जसबाट कम्तिमा ३० खेल खेल्ने पहिलो खेलाडी बन्ने सम्भावनाको उनी निक्कै नजिक छन् ।
विश्वकपमा मेसीले कप्तानको हैसियतमा कीर्तिमानी २० खेलमा अर्जेन्टिनाको टिमलाई नेतृत्व गरेका छन् । उनीभन्दा पछि १७ खेलमा टिमको नेतृत्व गरेका राफा मार्क्वेज र १६ खेलमा कप्तानी आर्मब्यान्ड लगाएका डिएगो म्याराडोना छन् ।
विश्वकप इतिहासमा सर्वाधिक प्लेइङ मिनेट्स पाउने खेलाडी पनि मेसी नै हुन् । उनले अहिलेसम्म विश्वकपमा २४०४ मिानेट मैदानमा बिताइसकेका छन् । उनले इटालीका लेजेन्ड पाव्लो माल्डिनीको २२१७ मिनेट खेलेको कीर्तिमान कतार २०२२ को फाइनलमा तोडेका थिए ।
विश्वकपका पाँच फरक संस्करणमा सहयात्रीलाई गोलका लागि एसिस्ट गर्ने हकमा पनि मेसी एक्लो खेलाडी हुन् । यो कीर्तिमान उनले जारी विश्वकप सुरु हुनुभन्दा पहिला नै आफ्नो नाममा लेखाइसकेका थिए । फरक विश्वकपमा एसिस्ट गर्ने कीर्तिमानमा उनको सबभन्दा नजिक ३ संस्करणमा एसिस्ट गरेका पेले, गर्जेगर्ज लाटो, डिएगो म्याराडोना र डेविड बेकह्याम छन् ।
पेले र मेसीले विश्वकपको नकआउट चरणमा सर्वाधिक ६ एसिस्ट गरेका छन् । सर्वाधिक गोलमा संलग्नता राख्ने तथ्यांकमा पनि पेले र मेसी २१ गोलका साथ सबभन्दा अगाडि छन् ।
विश्वकप इतिहासमा प्रतियोगिताको समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल सबै चरणका खेलमा गोल गर्ने मेसी एक्लो खेलाडी हुन् । साथै किशोरावस्थामा, २० देखि ३० र ३० देखि ४० सबै उमेरमा रहँदा विश्वकपमा गोल गर्ने पनि मेसी इतिहासकै एक्ला खेलाडी हुन् ।
मेसीले विश्वकपमा पहिलो गोल गरेको र बुधबार बिहान गरेको अहिलेसम्मको पछिल्लो गोल गर्दाको अवधिमा २० वर्षको अन्तर छ । जुन आफैमा अर्को कीर्तिमान हो । यसअघि विश्वकपको पहिलो गोल र पछिल्लो गोलबीच लामो अन्तरको कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा थियो । रोनल्डोको पहिलो र पछिल्लो गोलबीच १६ वर्ष १६० दिनको अन्तर थियो ।
२००२ को संस्करणबाट दिन सुरु गरिएको प्लेयर अफ दी म्याचको अवार्ड पनि अहिलेसम्म मेसीले सर्वाधिक १२ पटक जितिसकेका छन् । ब्राजिल २०१४ मा उनले ४ पटक प्लेयर अफ दी म्याचको अवार्ड जितेर एकै संस्करणमा सर्वाधिक पटक प्लेयर अफ दी म्याच बन्ने कीर्तिमानमा नेदरल्यान्ड्सका वेस्ले स्नाइडरसँग बराबरी गरेका थिए । ४ वर्षअघि दक्षिण अफ्रिकामा ४ पटक प्लेयर अफ दी म्याचको अवार्ड जितेर स्नाइडरले पहिलो पटक यो कीर्तिमान बनाएका थिए ।
साथै मेसी २ पटक एडिडास गोल्डेन बलको अवार्ड जित्ने खेलाडी पनि हुन् । उनले ब्राजिल २०१४ र कतार २०२२ मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाउने यो अवार्ड हात पारेका थिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women