TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 18, 2026 · Swadesh

समूह ‘ए’ :जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

समूह ‘ए’ :जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं । चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को आफ्नो पहिलो खेलमा पराजय बेहोरेका थिए । बिहीबार राति एट्लान्टास्थित मर्सिडिज बेन्ज रंगशालामा नेपाली समयअनुसार ९ः४५ बजे यी दुईले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

बफाना बफानालाई उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले २–० ले पराजित गरेको थियो । सात घण्टापछि दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २–१ को पुनरागमन जित हासिल गर्यो ।

युइएफए छनोटको प्लेअफमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै चेक रिपब्लिकले २० वर्षपछि विश्वकपमा पुनरागमन जनाएको हो । २००६ जर्मनी विश्वकपमा समूह चरणबाट बाहिरिएको चेक रिपब्लिक (चेकिया) स्वतन्त्र राष्ट्र भएयता दोस्रोपटक विश्व फुटबलको महाकुम्भमा सहभागिता जनाइरहेको छ ।

यसपाली टोलीले जसरी पनि नकआउट चरण पुग्ने लक्ष्य बोकेको छ । पहिलो खेलमा टोलीले लक्ष्यअनुरुप सुरुआत गरेको थियो । मिरोस्लाभ कौबेकको नेतृत्वमा रहेको टोलीले कप्तान लाडिस्लाभ क्रेज्कीको गोलमार्फत दक्षिण कोरियाविरुद्ध ५९औं मिनेटमा अग्रता लिएको थियो । तर, अन्त्यमा जित कोरियाको भयो । यसबीच मिडफिल्डर थोमस सौसेकको गोलले अफसाइडका कारण मान्यता पाउन सकेन ।
हारसँगै चेकियाको अपराजित यात्रा सातौं खेलमा आएर टुंगियो ।

यो खेलअघि टोलीले निर्धारित ९० मिनेटमा चार खेल जितेको थियो । बाँकी दुई खेलमा चेकिया पेनाल्टी सुटआउटमा भाग्यशाली रह्यो । पछिल्ला चार खेलमा टोली क्लिनसिट राख्न असफल भएको थियो । कोरियाविरुद्ध पनि त्यही कथा दोहोरियो ।

बिहीबार दक्षिण अफ्रिकालाई हराए चेकियाको आशा जीवितै रहनेछ । टोलीले बढीमा समूहको शीर्ष दुई स्थानका लागि आफ्नो दाबेदारी बनाइरहनेछ । कम्तिमा उत्कृष्ट ‘सेकेन्ड रनर्स–अप’को बाटो खुल्नेछ ।

यी दुई अहिलेसम्म एकैपटक अन्तर्राष्ट्रिय मञ्चमा आमने–सामने भएका छन् । १९९७ फिफा कन्फेडेरेसन कपमा भएको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।

दक्षिण अफ्रिकाको यो चौथो विश्वकप हो । सन् २०१० मा प्रतियोगितालाई होस्ट गरेको टोली त्यसयता पहिलोपटक सहभागिता जनाइरहेको छ । १६ वर्षअघि पनि टोलीले उद्घाटन खेलमा मेक्सिकोसँग खेलेको थियो । त्यतिबेला टोलीले मेक्सिकोसँग १–१ को बराबरी खेलेको थियो ।

यसपालीको कथा फरक रह्यो । तीन रातो कार्ड देखाइएको खेलमा दक्षिण अफ्रिका सह–आयोजकसामू निरीह बन्यो ।

मिडफिल्डरद्धय स्फेफेलो सिथोले र थेम्बा ज्वाने रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भएका थिए । इन्जुरी समयमा मेक्सिन रक्षक सेजार मोन्टेसलाई पनि रातो कार्ड देखाइएको थियो ।

मुख्य प्रशिक्षक ह्युगो ब्रुजका लागि चिन्ताको विषय यी खेलाडीको विकल्प खोज्नु होइन । जितविहीन यात्रालाई ब्रेक गर्नु हो । पाँच खेल भइसक्यो टोलीले जित्न नसकेको  । टोली जब जब हारेको छ, सबैमा दुई गोल खाएको छ ।

चेकियाविरुद्ध दक्षिण अफ्रिकालाई एउटै कुराले ‘मोटिभेट’ गरेको छ । त्यो हो विश्वकपमा दक्षिण अफ्रिकाले युरोपियन टोलीसँग भएको पछिल्लो भेटमा जित निकालेको छ । २०२० मा टोलीले फ्रान्सलाई २–१ले हराएको थियो ।

समूह ‘ए’को अर्को खेलमा शुक्रबार बिहान मेक्सिको र दक्षिण कोरियाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार ६ः४५ बजे हुनेछ । दुबै नकआउट चरण पुग्ने पहिलो टोली बन्ने दाउमा हुनेछन् । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group A
1 Mexico 1 3
2 South Korea 1 3
3 Czechia 1 0
4 South Africa 1 0
सबै समूह →