← समाचारमा फर्कनुस्
Volleyball Jul 09, 2026 · Swadesh

ललितपुरका दुवै टोली विजयी

ललितपुरका दुवै टोली विजयी

काठमाडौं। ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा भइरहेको बागमती प्रदेशस्तरीय महिला तथा पुरुष मेयर कप भलिबल प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो दिन ६ खेल सम्पन्न भएका छन्।

जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा महिलातर्फ दुई तथा पुरुषतर्फ चार खेल खेलिएका हुन्।

महिलातर्फ दिनको पहिलो खेलमा ललितपुर महानगरपालिकाले धुलिखेल नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। ललितपुरले खेल २५–६, २५–१४ र २५–८ ले आफ्नो पक्षमा पार्दै सहज जित दर्ता गर्‍यो।

दोस्रो खेलमा काठमाडौं महानगरपालिकाले बेथानचोक गाउँपालिकालाई ३–१ को सेटमा हरायो। काठमाडौंले पहिलो सेट २५–१८ र दोस्रो सेट २६–२४ ले जितेको थियो। तेस्रो सेट २६–२४ ले बेथानचोकको पक्षमा गए पनि काठमाडौंले चौथो सेट २५–२२ ले जित्दै खेल आफ्नो पक्षमा पार्‍यो।

पुरुषतर्फ ललितपुरले लगातार दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा मेलुङ गाउँपालिकालाई हराएको ललितपुरले दोस्रो खेलमा गल्छी गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। ललितपुरले खेल २५–१०, २५–६ र २५–७ ले आफ्नो पक्षमा पार्‍यो।

अर्को खेलमा माडी नगरपालिकाले बुढानीलकण्ठ नगरपालिकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो। माडीले पहिलो सेट २५–२० ले जितेको थियो भने दोस्रो सेट २६–२४ ले गुमायो। तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको माडीले चौथो सेट २६–२४ ले गुमाएपछि खेल पाँचौं सेटमा पुगेको थियो। निर्णायक पाँचौं सेटमा भने माडी १५–६ ले विजयी बन्यो।

यस्तै, मेलुङ गाउँपालिकाले महालक्ष्मी नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्‍यो। मेलुङले पहिलो सेट २५–२० ले जिते पनि दोस्रो सेट २५–२३ ले गुमाएको थियो। त्यसपछि तेस्रो सेट २७–२५ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्‍यो।

दिनको अन्तिम खेलमा महाङ्काल गाउँपालिकाले थाहा नगरपालिकालाई ३–१ को सेटमा हरायो। महाङ्कालले पहिलो सेट २९–२७ र दोस्रो सेट २५–१८ ले जितेको थियो। तेस्रो सेट २५–१८ ले थाहाले आफ्नो पक्षमा पारे पनि चौथो सेट २५–२२ ले जित्दै महाङ्काल विजयी बन्यो।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरोलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता असार २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →