केसीएका क्रिकेटरलाई हिमालयन व्हाइट हाउसको छात्रवृत्ति

काठमाडौं। काठमाडौं क्रिकेट एकेडेमीका ११ जना खेलाडीलाई हिमालयन व्हाइट हाउस आइबी वर्ल्ड स्कुलले छात्रवृत्ति प्रदान गरेको छ।
बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रहेको काठमाडौँ क्रिकेट एकेडेमीमा बिहीबार आयोजित एक कार्यक्रममा एकेडेमी र हिमालयन ह्वाइट हाउसबीच छातृवत्तिका लागि सम्झौता भएको हो । उक्त सम्झौतामा केसिएका संचालकद्वय मदन कार्की र कुन्दन खड्का तथा हिमालयन व्हाइट हाउसका अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका थिए । सम्झौता अवधि पाँच वर्षको रहेको छ।
कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक केसिएका निर्देशक तथा प्रमुख प्रशिक्षक जगत टमाटा पनि उपस्थित थिए।
यस सहकार्यको मुख्य उद्देश्य युवा क्रिकेट खेलाडीहरूको शैक्षिक तथा खेलकुद विकासलाई सुदृढ बनाउनु रहेको छ। सम्झौताअनुसार केसिएले प्रतिभाशाली तथा योग्य युवा क्रिकेटरहरू पहिचान, प्रशिक्षण र सिफारिस गर्नेछ भने हिमालयन व्हाइट हाउसले उनीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ । खेलाडीहरूले कक्षा १० सम्म छात्रवृत्ति पाउनेछन्। सम्झौतामा छात्रवृत्ति प्लस टु सम्म निरन्तर हुने पनि उल्लेख छ।
सम्झौताअनुसार काठमाडौं क्रिकेट एकेडेमीले खेलाडीहरूको प्रगति, अनुशासन र प्रशिक्षणको नियमित अनुगमन गर्दै विद्यालयलाई जानकारी गराउनेछ। हिमालयन व्हाइट हाउसले एकेडेमीद्वारा सिफारिस गरिएका खेलाडीहरूलाई प्राथमिकता दिँदै छात्रवृत्ति प्रदान गर्ने, आवश्यक परे अतिरिक्त कक्षा तथा वैकल्पिक मूल्यांकनको व्यवस्था गर्ने र केसिएलाई आफ्नो आधिकारिक क्रिकेट साझेदारको रूपमा प्रवर्द्धन गर्ने भएको छ ।
कार्यक्रममा बोल्दै एकेडेमीका निर्देशक तथा प्रमुख प्रशिक्षक जगत टमाटाले खेलाडीका लागि शिक्षा अपरिहार्य रहेको उल्लेख गरे। उनले भने, “खेलाडीले खेल मात्र खेरेर हुँदैन, शिक्षाको पनि उत्तिकै आवश्यकता हुन्छ। यो सहकार्य अत्यन्त राम्रो पहल हो।”
त्यस्तै हिमालयन व्हाइट हाउसका अध्यक्ष युवराज शर्माले यसलाई नयाँ सुरुवातको रूपमा लिँदै ग्रासरुटबाट क्रिकेट विकासमा जोड दिनुपर्ने बताए। “हामीले दुई दशकभन्दा बढी समयदेखि खेलकुद प्रवर्द्धन गर्दै आएका छौं। धेरै राष्ट्रिय क्रिकेटर उत्पादनमा हाम्रो योगदान छ। अब विद्यालय तहबाटै खेलाडी तयार पार्ने लक्ष्यका साथ यो पहल सुरु गरेका हौं,” उनले भने।
एकेडेमीका संचालक मदन कार्कीले यो सहकार्यले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरुलाई ठूलो उत्प्रेरणा मिल्ने र उनीहरुको क्षमता अभिवृद्धिमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
यस्तै अभिभावकका तर्फबाट गणेश कुमार खड्काले दुबै संस्थालाई धन्यवाद दिँदै यस कार्यक्रमले भविष्यमा उत्कृष्ट क्रिकेटर उत्पादनमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे।
यो सहकार्यलाई नेपालमा विद्यालय तहबाटै व्यवस्थित रूपमा क्रिकेट प्रतिभा उत्पादन गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। खेलाडीहरूको उज्ज्वल भविष्य निर्माण गर्दै खेल र शिक्षाबीच सन्तुलन कायम गर्ने लक्ष्यसहित सुरु गरिएको यो कार्यक्रमले आगामी दिनमा नेपाली क्रिकेटमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women