← समाचारमा फर्कनुस्
Volleyball Feb 03, 2025 · Swadesh

गण्डकीलाई पराजित गर्दै नेपाल पुलिस क्लब बन्यो टाइगर कप विजेता:खेल विश्लेषण

गण्डकीलाई पराजित गर्दै नेपाल पुलिस क्लब बन्यो टाइगर कप विजेता:खेल विश्लेषण

संयम ढकाल

भलिबल, नेपालीहरूको हृदयमा गहिरो स्थान ओगट्ने एक खेल हो जसले एकता र प्रतिस्पर्धाको भावना सजीव बनाउँछ। २०१७ मा भलिबललाई नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा गरिए यताको समयले यस खेललाई सामुदायिक स्तरदेखि व्यावसायिक क्षेत्रमा एक नयाँ दिशा र गति दिएको छ। युवा र वयस्कहरूको सक्रिय सहभागिता र बढ्दो दर्शक संख्या सँगै, स्थानीय प्रतियोगिता र राष्ट्रिय लिगहरूको आकर्षणमा पनि वृद्धि भएको छ, जसले भलिबलको लोकप्रियतालाई थप मजबुत बनाएको छ। काठमाडौँका व्यस्त गल्लीहरूदेखि हिमालका दुर्गम गाउँसम्म भलिबलले समुदायलाई एकजुट गर्न र नयाँ प्रतिभाहरू उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। नेपालमा आयोजना हुने प्रमुख खेल प्रतियोगिताहरूमध्ये टाइगर कप भलिबलको स्थान विशेष छ। यो प्रतियोगिता मोफसल स्तरको सबैभन्दा प्रतिष्ठित टूर्नामेन्टहरूमध्ये एक मानिन्छ र राष्ट्रिय भलिबल लिगपछि दोस्रो ठूलो र भव्य प्रतियोगिता बनिसकेको छ।


गण्डकी प्रदेशलाई भलिबलको राजधानी घोषणा गरे पनि फरक पर्दैन,यहाँको खेल प्रेमी दर्शकहरूको ठूलो भिड र उत्साहजनक वातावरणले प्रतियोगिताहरूलाई अझ विशेष बनाउँदै आएको छ। टाइगर कपको निरन्तर आयोजना र त्यसप्रति देखिएको जनचासोले गण्डकी प्रदेशमा भलिबलको विकासमा उल्लेखनीय प्रभाव पारेको छ। यस प्रतियोगिताले स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा उकास्ने मात्र होइन, नेपालमा भलिबलको सामाजिक र सांस्कृतिक प्रभाव पनि बढाएको छ। हालै सम्पन्न पाँचौँ संस्करणको Ncell टाइगर कप भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले घरेलु टिम गण्डकी प्रदेश भलिबल टिमलाई ३- १ को सेटमा  हराएर टाइगर कपको उपाधि जित्न सफल भएको छ। 


गण्डकी प्रदेशको घरेलु मैदान पोखरा रङ्गशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिसले गण्डकीमाथि सहज जित हासिल गर्यो। पुलिसले आफ्नो मिड ब्लकर र ओपन स्पाइकरहरूको हिटर पोजिसनलाई मुख्य रणनीति बनाउँदै गण्डकीमाथि उत्कृष्ट जित निकाल्यो। रबिन नगरकोटी र सफल विकको जोडीले गण्डकीलाई निरन्तर दबाब दिँदै ठूलो अङ्क प्राप्त गरे। पुलिसका लागि रेशम छन्त्याल उनको ओपन स्पाइक र पहल गहतराजको आउटसाइड हिटर पोजिसनको स्पाइकले पनि ठूलो भूमिका निभायो। बलराम गुरुङको सेटिङमा  छन्त्याल र  नगरकोटीले पुलिसलाई पहिलो सेटमा अग्रता दिलाए, र पुलिसले २५-२३ को स्कोरमा पहिलो सेट जित्यो। उत्कृष्ट मिडल ब्लकिङ र  पहल गहतराजको  ब्याकफुट डिफेन्सले पुलिसलाई दोस्रो सेट पनि जित्न मद्दत पुर्यायो, जसमा पुलिसले २५-२१ को स्कोरमा दोस्रो सेट जित्यो। दोस्रो सेटमा सफल विकको ब्लकिङले गण्डकीका स्पाइकरहरूलाई खुल्ला खेल्नबाट रोक्यो, जसले गर्दा खेलाडीको प्रदर्शन र मनोविज्ञानमा असर पर्‍यो। दोस्रो सेटमा पनि रविन नगरकोटी र सफल बिककै दबदबा कायम रह्यो। 


खेलको तेस्रो सेटमा गण्डकीले पुनरागमन गर्यो। रमन कुमारको उत्कृष्ट प्रदर्शनले गण्डकीले तेस्रो सेट २५-२० ले जित्यो। हिमाल सुनारी र इन्द्रको मिडब्लकले विवस आले र रमन कुमारलाई खेलमा सहज बनायो। यद्यपि अनुबन्धित अफ्रिकी खेलाडी सेस्सालाई प्रयोग गर्न नसक्नु हारको मुख्य कारण बन्यो। सन्जुविक्रम शाहको प्रदर्शन पनि त्यति प्रभावशाली थिएन। तर, रमन कुमारको उत्कृष्ट खेलले गण्डकीलाई तेस्रो सेटमा पुनः उभ्याउँदै खेलमा आशा जीवित राख्यो।


खेलको चौथो सेटमा केही समय तनावग्रस्त स्थिति सिर्जना भयो। रेफ्री विकास गुरुङको निर्णयप्रति असन्तुष्ट हुँदै दुवै टिमले केही समय खेल अवरुद्ध गरे। यद्यपि खेल फेरि सुरु भएपछि पुलिसले गहतराजको निर्णायक प्रदर्शनमा जित हासिल गर्यो। गहतराजको डिफेन्स, सफल र रबिनको ब्लकको अगाडि गण्डकीको रणनीति फेल खायो। मिडब्लकरलाई सक्रिय राख्दै पुलिसले गण्डकीलाई २५-२२ ले हराउन सफल भयो। यसरी पहिलोपटक नेपाल पुलिसक्लबले टाइगर कपको उपाधि जित्न सफल भयो। 


खेलको सुरुआतदेखि नै कमजोरी देखाएको गण्डकीले आफ्नो कमजोरी पहिचान गर्न नसक्दा आजको खेल हार्न पुग्यो। विदेशी अनुबन्धित खेलाडीलाई प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा गण्डकीले हार बेहोरेको हो। पुलिस विरुद्ध गण्डकीले मेहदी र सेसालाई मुख्य रणनीति बनाउन सकेको भए, गण्डकीले खेलमा केही प्रभाव पार्न सक्थ्यो। यद्यपि त्यसको फाइदा उठाउन नसक्दा पुलिसले गण्डकीलाई दबाएर राख्यो। गण्डकीको डिफेन्स र मिडब्लकमा सुधार आवश्यक देखियो। गण्डकी हार्नुको मुख्य कारण सफल विक र रविन नगरकोटीलाई रोक्न नसक्नु हो। क्विक स्पाइक र महत्त्वपूर्ण ब्लक गर्दै पुलिसले पाँचौं संस्करणको टाइगर कप आफ्नो नाममा गर्यो। विजेता पुलिसले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो, भने दोस्रो स्थानमा रहेका गण्डकीले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →