← समाचारमा फर्कनुस्
Other Sports Sep 13, 2024 · Swadesh

२५औं एआईपीएस एसिया कंग्रेस सम्पन्न

२५औं एआईपीएस एसिया कंग्रेस सम्पन्न

काठमाडौं । खेलकुद पत्रकाहरूको छाता संगठन एआईपीएस एसियाको २५औं कंग्रेस भव्य रूपमा काठमाडौंमा सम्पन्न भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पहिलो पटक नेपालमा यो महत्त्वपूर्ण कंग्रेस आयोजना भएको हो। भदौ २७ गते काठमाडौंको एभरेस्ट होटलमा आयोजित उद्घाटन समारोहमा खेलकुद मन्त्री तेजुलाल चौधरीले पानसमा दीप प्रज्वलन गरी कंग्रेसको उद्घाटन गरे। सो अवसरमा मन्त्री चौधरीले नेपालमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न हुनु ऐतिहासिक उपलब्धि भएको बताए। यस किसिमका कार्यक्रमले खेलकुद र पत्रकारितामा नेपाललाई अझ अगाडि बढाउन मद्दत पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

३० राष्ट्रका खेलकुद पत्रकारहरूको सहभागिता

२५औं कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी भएका थिए। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीसहित विभिन्न पदाधिकारी, ओलम्पियन र खेलाडीहरूको उपस्थिति रहेको थियो। राखेपका सदस्यसचिव घिसिङले कंग्रेसलाई सम्बोधन गर्दै नेपालमा यस्तो प्रतिष्ठित कार्यक्रम आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए। उनले डिजिटल युगमा खेलकुद पत्रकारिताको नयाँ परिदृश्यबारे चर्चा गर्नु प्रेरणादायी रहेको बताए।

खेलकुद र पत्रकारिता: चुनौतिहरू र सम्भावनाहरू

कार्यक्रममा टंकलाल घिसिङले खेलकुद पत्रकारितामा चुनौतीहरूका बाबजुद नेपालका खेलाडीहरूले विश्व मञ्चमा गर्विलो इतिहास कायम गरिरहेको बताए। उनले खेलकुदले युवाहरूलाई अनुशासन, राष्ट्रप्रतिको गर्व र प्रेरणा दिने माध्यमको रूपमा काम गरेको धारणा राखे। खेलकुद पत्रकारितामा नयाँ आयाम थपिनु र विश्वभरका खेलकुद पत्रकारहरूको अनुभवबाट लाभ उठाउनु नेपालका लागि महत्वपूर्ण छ।

एसियाको नेतृत्व र महिला सशक्तिकरणको छलफल

कार्यक्रममा एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाली राष्ट्रहरूको योगदानबारे चर्चा गरे। पछिल्ला ओलम्पिकहरूमा एसियाली राष्ट्रहरूले गरेको प्रदर्शनले एसियाको नेतृत्वलाई थप मजबुत बनाएको उनको भनाइ थियो। साथै, नेपालका लागि पेरिस पारालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धन, खेल पत्रकार शिवानी थापा, भारत र चीनका महिला पत्रकारहरूबीच महिला सशक्तिकरणबारे विशेष छलफल पनि भएको थियो। यो सत्रले खेलकुद र पत्रकारितामा महिलाको भूमिकाबारे महत्त्वपूर्ण संवाद प्रस्तुत गर्‍यो।

नेपाल पर्यटनको प्रवर्द्धन

नेपाल पर्यटन बोर्डले कंग्रेसको अवसरमा नेपालका ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, भाषा-संस्कृति, हिमाल र पहाडहरूको वृत्तचित्र प्रस्तुत गरेको थियो। यसका साथै, विश्वभर लोकप्रिय हुँदै गएको इ-स्पोर्ट्सको अवस्थाबारे पनि वृत्तचित्र प्रस्तुत गरियो। कंग्रेसमा सहभागी पत्रकारहरूले नेपालका पर्यटकीय सम्भावनाहरूलाई अझ राम्रोसँग चिन्ने अवसर पाएका थिए।

सम्झौता र सहकार्य

कार्यक्रममा एआईपीएस एसिया र होटल एसोसिएसन अफ नेपाल (हान) बीच विशेष सम्झौता भएको छ। हानका अध्यक्ष विनायक शाह र एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङले सम्झौतामा हस्ताक्षर गरेका थिए। यस सम्झौताअनुसार, एआईपीएस एसियाका सदस्य पत्रकारहरूले नेपाल भ्रमण गर्दा होटलमा १० प्रतिशत छुट पाउनेछन्। साथसाथै, एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङलाई नेपालको सद्भावना दूतको रूपमा नियुक्त गरिएको छ।

यसैगरी, एआईपीएस एसिया र सिएमआर नेपालबीच खेलकुद पत्रकारहरूको प्रशिक्षणका लागि सम्झौता भएको छ। सिएमआर नेपालका निर्देशक उज्वल आचार्य र एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङबीच भएको यस सम्झौताअनुसार, सिएमआर नेपालले हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गर्नेछ। यस कोटाअनुसार नेपाल खेलकुद पत्रकार मञ्चले प्रशिक्षणका लागि सुविधा पाउनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →