Share on:

नाटकीय र रोमाञ्चक भिडन्त : भारत र नेपालको खेल
October 29th, 2024

संयम ढकाल

"खेलमा हामीलाई चकित पार्ने अद्भुत शक्ति हुन्छ। तपाईं कहिल्यै परिणामको भविष्यवाणी गर्न सक्नुहुन्न, र यही यसको वास्तविक सौन्दर्य हो।" पेप गुार्डियोला का यी शब्दहरू २०२४ अक्टोबर २७ नेपाल र भारतबीच भएको साफ महिला च्याम्पियनशिपको सेमिफाइनल भिडन्तसँग गहिरो अर्थमा जुरेका छन्। यस खेलमा केही अप्रत्याशित घटनाहरू भए, जसले  दक्षिण एशियाली फुटबल समुदायलाई चकित पार्नुका साथै पूर्ण रूपमा अनपेक्षित बनायो।

नेपालको घरेलु मैदान, दशरथ रङ्गशाला, एशियाली फुटबलको लागि एक ऐतिहासिक स्थलको रूपमा मानिन्छ, जसले एसियाली खेलकुदको भविष्यको विकासमा महत्वपूर्ण भूमिका निभाएको छ। करीब १५,००० दर्शकले रङ्गशाला भरिएको थियो, जसमा नेपाली समर्थकहरूको ठूलो उपस्थिति रह्यो। दर्शकहरूले खेलको क्षणलाई सजीव रूपमा महसुस गर्दै, उत्साहपूर्ण र समर्थन गर्ने वातावरण सिर्जना गरे। खेल केहीबेर तनावग्रस्त अवस्थामा पनि पुग्यो । रेफ्रीको निर्णय विरुद्ध असन्तुष्टि जनाउँदै नेपाली समर्थकले बोतल प्रहार गरे र सुरक्षा खतरा पनि पैदा भयो। । यसैबीच, डिजिटल प्लेटफर्ममा दर्शकहरूको संख्या पनि इतिहासकै उच्चतम स्तरमा पुग्यो। यी घटनाले स्पष्ट रूपमा नेपाली फुटबलप्रतिको दर्शकहरूको गहिरो प्रेम र चासोलाई दर्शायो, जसले खेलको भविष्यमा सकारात्मक प्रभाव पार्न सक्छ। 

नेपालले ४-४-२ को फर्मेसनमा खेलको सुरुवात गर्‍यो, जसमा अन्तर्राष्ट्रिय लिगहरूमा अनुभव प्राप्त गरेका अनुभवी स्ट्राइकरहरू साबित्रा भण्डारी र रेखा पौडेल समावेश थिए। यसको विपरीत, भारतले ४-२-३-१ को फर्मेसन अपनायो, जसमा क्रोएशियन लिगकी अनुभवी ज्योति चौहान र भारतकी शीर्ष स्कोरर बाला देवी समावेश थिए। 


पहिलो हाफ सावधानीपूर्वक सुरु भयो, जहाँ दुबै टोलीहरूले एकअर्काको कमजोर पक्षहरू पहिचान गर्न प्रयास  गरे। भारतले खेलको प्रारम्भमा नियन्त्रण लिन सफल भयो, जहाँ मिडफिल्डर मनीषा कल्याण र डंगमेई ग्रेसले दायाँ र बायाँ फ्ल्याङ्क बाट अवसरहरू सिर्जना गरे I खेलको १९औं मिनेटमा, मनीषाले गरेको कर्नर प्रहारमा ज्योतीले फिनिसिङ दिन सकिनन्, र बल बाहिरियो। त्यस लगत्तै नेपालले आफ्नो आक्रामक रणनीति अपनायो। भारतको डिफेन्स धेरै फितलो देखियो I नेपालले लगातार दबाब सिर्जना गर्दैगर्दा अवसरहरु खेर गर्यो र गोल गर्न सकेन। खेलको तीसौँ मिनेटमा सावित्राको उत्कृष्ट पासलाई अमिशा कार्कीले सदुपयोग गर्न सकिनन् I खेलको ३५ औँ मिनेटमा सावित्राले प्रहार गरेको बल भारतीय डिफेन्डरको हातमा लाग्न पुग्यो र पेनाल्टी अपिल गर्दा रेफ्रीले कुनै पनि चासो देखाइनन् Iपहिलो हाफको अतिरिक्त समयमा भारतीय खेलाडी विरुद्ध बल खोस्ने क्रममा रेखा पौडेलले पहिलो पहेलो कार्ड प्राप्त गरिन्। भारतले फ्री किकमा राम्रो अवसर प्राप्त गर्यो तर नेपालले फ्री-एकलाई गोलमा परिणत हुनबाट रोक लगायो। यसरी पहिलो हाफको खेल एकएक गोलको बराबरीमा सकियो। 


दोस्रो हाफमा पनि भारतले नेपालमाथि दबाब सिर्जना गरिरह्यो I बल खोस्ने क्रममा रेखा पौडेलले दोहोरो पहेलो कार्ड प्राप्त गर्दै मैदान छोडिन । १० खेलाडीमा सीमित रहेको नेपाललाई भारतले थप दबाब दिइरह्यो र लगातार आक्रमण गरिरह्यो I सीमित नेपाली खेलाडी सतर्क नहुँदा फाइदा उठाउँदै भारतले पहिलो गोल गर्यो I  भारतका लागि संगीता बास्फोरले खेलको ६६ औँ मिनेटमा शानदार गोल गरिन्। यस लगत्तै खेलमा यस्तो घटना घट्यो जुन सायद कसैले पनि कल्पना गरेका थिएनन् I भारतीय खेलाडीहरू गोल मनाउँदै थिए , रेफ्रीको इशारामा प्रीति राईले भारतको खाली पोस्टमा गोल गरिन् तर गोलको मान्यता दिइएन I यस लगत्तै मैदानमा तनावपूर्ण स्थिति सिर्जना भयो जसमा नेपाली टोलीका खेलाडीहरु र भारतीय पक्षका खेलाडीहरु विरोधमा उत्रिए। रेफ्रीको  गल्तीका कारण खेल अन्योलमा पुग्यो I

प्रमुख रेफ्री ओमचोकी आफ्ना निर्णयहरूमा निश्चित देखिन्नन्। विशेषगरी रेखा पौडेललाई देखाइएको रातो  कार्ड र अस्वीकृत गरिएको गोलको सन्दर्भमा उनको निर्णयमा प्रश्न चिन्ह खडा भयो। उनी बारम्बार FIFA रेफ्री एसेसर मारिया रेबेलो र चौथो अफिसियलसँग परामर्श गर्छिन् जसबाट उनको घबराहट र आत्मविश्वासको कमी प्रष्टै देखियो। रेफ्रीको निर्णयमा निष्पक्षता र विश्वासनीयतामा प्रश्न उठ्यो I लगातार देखिएका शङ्कात्मक रेफ्रीका निर्णयहरूले दर्शकलाई पनि खेलको वैधतामाथि शंका गर्न बाध्य बनायो। 

अन्तत नेपाली टोली समर्थकको उपस्थितिको सम्मान गर्दै खेलखेल्ने निर्णयमा पुग्छ।  खेल सुरु भए लगत्तै दुवै टोलीमा प्रतिस्पर्धाको भावना झन् दोब्बर देखिन्छ। खेलको पाँच मिनेट नबित्दै प्रीति राईको पासमा सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै नेपाललाई बराबरीमा ल्याउँछिन्।खेल बराबरीमा टुङ्गिने र पेनाल्टीमा जाने आकलन गर्दै दुवै टोलीले आफ्ना गोलरक्षक परिवर्तन गर्छन्। खेलमा समान अवसर पाएतापनि  दुवै टोलीले थप गोल गर्न सक्दैनन् र खेल बराबरीमा टुङ्गिन्छ। 

सन्दर्भ पेनाल्टीको : सुब्स्टिच्युट गोल रक्षक अञ्जना रानाले चानु सोरोखाइबमको महत्त्वपूर्ण प्रहार रोक्न सफल भइन्, जबकि भारतीय कप्तान आशालता देवी लोइतोंगबमले आफ्नो पेनाल्टी गोलमा परिणत गर्न सकिनन्। सावित्रा भण्डारी, गीता राना, सबिता राना मगर र अमिशा कार्कीले आफ्नो पेनाल्टीलाई सफलतापूर्वक गोलमा परिणत गर्दै नेपाललाई फाइनलमा पुर्‍याउन सफल भए । नेपाल पेनाल्टीमा ४-२ गोल अन्तरले विजय भयो।


अन्तमा, नेपाल र भारतबीचको साफ महिला च्याम्पियनशिपको सेमिफाइनल खेल मैदानमा देखिएको तीव्र प्रतिस्पर्धाका साथै अप्रत्याशित नाटकीय खेलका लागि सम्झिइने छ। यस खेलले दक्षिण एसियाली फुटबललाई प्रेरित गर्ने तीव्र प्रतिद्वन्द्विता र जुनूनलाई उजागर गर्‍यो, जहाँ दुबै टोलीले चुनौतीहरूको सामना गर्दै दृढता प्रदर्शन गरे। भ्रम र विवादका क्षणहरू हुँदाहुँदै पनि, नेपालको टिमले लडेर फर्किनु र तनावपूर्ण पेनाल्टी शूटआउटमा जित हात पार्नुले यो खेललाई रोमाञ्चक निष्कर्ष प्रदान गर्‍यो। यो खेलले खेलकुदको अनपेक्षित स्वभाव र प्रतिस्पर्धाको अडिग आत्मालाई उजागर गर्‍यो। 



Swadesh Maharjan | October 29th, 2024

Comments

No comments yet.