पोखरा एभेन्जर्सले हिमाल सुनारीलाई स्पोर्ट्स एम्बासडर नियुक्त गर्यो

काठमाडौं, असोज २२ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य तथा नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर्स किङ्सका मार्की खेलाडी एवं कप्तान हिमाल सुनारी मगरलाई स्पोर्ट्स एम्बासडर नियुक्त गरेको छ।
बिहीबार आयोजित कार्यक्रममा पोखरा एभेन्जर्सले नेपाली भलिबलका चर्चित खेलाडी हिमाललाई स्पोर्ट्स एम्बासडरका रूपमा अनुबन्ध गरेको हो। पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनी र हिमालले सम्झौता पत्रमा हस्ताक्षर गरे।
मिडल ब्लकर हिमालले एनभीएलको पहिलो संस्करणमा अन्नपूर्ण स्पाइकर्स किङ्सको नेतृत्व गर्दै टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। कप्तानीसँगै कोर्टमा प्रभावशाली प्रदर्शन गरेका हिमाल घरेलु भलिबलमा पछिल्लो समय उदाएका चर्चित खेलाडी हुन्।
पोखरा एभेन्जर्सले ‘टु टिम, वान ड्रिम’ अवधारणाअन्तर्गत गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट र भलिबलका दुई फ्रेन्चाइज टोलीलाई जोड्ने उद्देश्यले हिमालसँग सहकार्य गरेको जनाएको छ।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले एउटै शहर र प्रदेशको प्रतिनिधित्व गर्ने दुई फरक खेलका फ्रेन्चाइज टोलीबीच सहकार्य र सहअस्तित्वको भावना विकास गर्ने उद्देश्यले हिमाललाई स्पोर्ट्स एम्बासडर बनाइएको बताए।
‘पोखरा एभेन्जर्स र भलिबलको अन्नपूर्ण स्पाइकर्स किङ्स फरक खेलका टोली भए पनि हाम्रो आधार र भावना एउटै हो। गण्डकी प्रदेश र पोखराको खेलकुदलाई अझ बलियो बनाउने उद्देश्यले हिमालसँग सहकार्य गरेका हौं,’ लोहनीले भने।
हिमालले केही समयअघि पाकिस्तानमा सम्पन्न काभा पुरुष भलिबल च्याम्पियनसिपमार्फत नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। घरेलु प्रतियोगितामा गण्डकी प्रदेशबाट खेल्दै आएका हिमाल छोटो समयमै राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रूपमा स्थापित हुँदै गएका छन्।
स्पोर्ट्स एम्बासडरका रूपमा हिमालले पोखरा एभेन्जर्सको ब्रान्ड प्रवर्द्धन, समर्थकसँगको सम्बन्ध विस्तार तथा क्रिकेट र भलिबलबीचको सहकार्यलाई थप मजबुत बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैबीच, एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको पोखरा एभेन्जर्सले प्रशिक्षण पनि सुरु गरिसकेको छ। टोलीले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको थियो।
अक्सनमार्फत पोखराले अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप आर्याल, सत्री बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा आबद्ध गरेको छ।
विदेशी खेलाडीका रूपमा पोखराले बंगलादेशका चर्चित अलराउन्डर शकिब अल हसनलाई अनुबन्ध गरिसकेको छ भने श्रीलंकन अलराउन्डर धनञ्जय लक्षणलाई लगातार दोस्रो सिजन टोलीमा निरन्तरता दिएको छ।
टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी बलापुवाडुगे अजन्ता विन्स्तो मेञ्चिस नियुक्त भएका छन्। मेञ्चिस नेपाल आइसकेका छन् र टोलीको प्रशिक्षणसमेत सुरु गरिसकेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |