← समाचारमा फर्कनुस्
Football Oct 07, 2025 · Swadesh

के नेपाली राष्ट्रिय फुटबल टिमलाई एक्कासी फाइदा हुन लागेको हो ?

के नेपाली राष्ट्रिय फुटबल टिमलाई एक्कासी फाइदा हुन लागेको हो ?

यसपल्टको फिफाको ‘इन्टरनेसनल ब्रेक’ मा नेपाली राष्ट्रिय फुटबल टिमले एसियाकप छनोटको दुई खेल खेल्दैछ । नेपाल एसियाकप छनोट तेस्रो चरणको समूह ‘एफ’ मा छ र अबको साता भियतनामको सामना गर्दैछ । यसका लागि नेपाली टिम भियतनामको हो चि मिन्ह प्रस्थान गरिसकेको छ । यसबीच नेपाली टिम उत्साहित छ । यस्तो किन भन्दा नेपाली राष्ट्रिय फुटबल टिमलाई एक्कासी फाइदा हुन लागेको छ । 

सबैभन्दा यसका लागि पृष्ठभूमितर्फ जानु पर्छ । यो समूहमा नेपाल र भियतनामसँगै छन्, मलेसिया र लाओस । अहिलेसम्म सबै टिमले दुई दुई खेल खेलिसकेका छन् । मलेसिया दुवै खेल जितेर छ अंकमा शीर्ष स्थानमा छ । त्यसपछि भियतनाम र लाओसको तीन तीन अंक छ । नेपाल दुवै खेलमा पराजित रहेको छ, त्यसैले शून्य अंकमा छ । मलेसियासँग २–० ले हारेपछि नेपालले लाओसविरुद्धको खेल पनि २–१ ले गुमाएको थियो । 

खासमा भयो के भन्दा मलेसियालाई एसियाली फुटबल महासंघ (एएफसी) ले कारवाही गर्दैछ । मलेसियामाथि आरोप के छ भने उसले भियतनाम र नेपालविरुद्ध खेलेका दुवै खेलमा अयोग्य खेलाडी खेलाएको छ । त्यसैले एएफसीले मलेसियालाई ती दुवै खेलमा पराजित भएको मान्ने छ । त्यसको अर्थ नेपालको खातामा तीन अंक आउने छ । यसबारे अन्तिम निर्णय आउन बाँकी छ, तर हुने निश्चित जस्तै हो । 

यस्तो भयो भने एसियाकपको यो छनोटमा नेपालले आफ्नो सम्भावना देख्न सक्छ । अझ भनौं, नेपाली टिम महत्त्वकांक्षी हुन सक्छ । यसैलाई लिएर नेपाली टिमका मुख्य प्रशिक्षक म्याट रस पनि उत्साहित छन् । एन्फाले आयोजना गरेको टिमको बिदाईमा उनी साँच्चै खुसी देखिए । लाओसविरुद्धको खेल गुमाएपछि उनी दबाबमा थिए, तर उनकै भाषामा नेपाली टिमले ‘लाइफ लाइन’ पाएको छ। 

कोच म्याट रसको भनाई


  


नेपाली टिमका केही प्रमुख सदस्य अहिले विदेशी लिगमा खेलिरहेका छन् । त्यसमा कप्तान किरण लिम्बू पनि पर्छन् । उनी बंगलादेशमा छन् । लाकेन लिम्बू पनि विदेशमै छन् । उनीहरू दुवै जना सिधै भियतनाम पुग्नेछन् । त्यसैले बिदाइ समारोहका टिमको नेतृत्वमा देखिए, रोहित चन्द । उनी नेपाली टिमका सबैभन्दा सिनियर खेलाडी हुन् । उनी पनि भियतनामको सामना गर्दा उत्साहित छन्, सँगै उत्तिकै सावधान पनि । 


अहिलेसम्म नेपाल र भियतनामबीच दुई खेल भएका छन् । दुवै खेल सन् २००३ मा भएको थियो, एसियाकप छनोटको दोस्रो चरणको क्रममा । ती दुवै खेलमा नेपाल पराजित भएको थियो । दक्षिण कोरियाको इन्चेनमा भएको पहिलो लेगको खेलमा नेपाल ५–० ले पराजित भएको थियो भने ओमानको मस्कटमा भएको खेलमा २–० ले हारेको थियो । अब नेपालले २२ वर्षपछि भियतनामको सामना गर्दैछ । 


भियतनाम आफैमा बलियो टिम हो । त्यसै पनि दक्षिण पूर्वी एसियाको फुटबललाई राम्रै मान्न सकिन्छ । यस क्षेत्रको सबैभन्दा ठूलो प्रतियोगिता हो, आसियान च्याम्पिनसिप । भियतनामले यो प्रतियोगिता तीन पल्ट जितेको छ । अझ भियतनाम सन् २०२४ को च्याम्पियन पनि हो । त्यसैले तय छ, भियतनामविरुद्धको खेल सजिलो हुने पनि छैन्, त्यसमाथि उसकै भूमिमा खेल्नु पर्नेछ । 

दुई खेलमध्ये पहिलो प्रतिस्पर्धा हुनेछ, असोज २३ बिहीबार । यो खेल हुनेछ, भियतनामको आफ्नो घरको खेल । त्यसपछि दोस्रो खेल हुनेछ, असोज २८ मंगलबार । यो भने नेपालको घरको खेल हो, खासमा । दशरथ रंगशाला फिफा र एएफसीका खेलका लागि अयोग्य भनिएपछि नेपाल आफ्नो घरेलु मैदानमा खेल्नु पर्ने खेल उतै खेल्न बाध्य भएको हो । यो भने नेपाली फुटबलका लागि दुर्भाग्य नै हो । 


टिममा को को छन् त ? रसले २३ खेलाडी सम्मिलित अन्तिम सूची जारी गरिसकेको छ । यी हुन्, अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेनजन, जिलेप्सीजंग कार्की, किरण लिम्बू (कप्तान), कृतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डांगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ ।
टिमले भियतनाममा राम्रो गरोस, हाम्रो शुभकामना । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →