← समाचारमा फर्कनुस्
Top Headlines Oct 01, 2026 · Swadesh

पदकधारी कराते खेलाडी स्वदेश फिर्ता

पदकधारी कराते खेलाडी स्वदेश फिर्ता

जापानको दुई फरक सहरमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ ।

जापानको नागोयामा सेप्टेम्बर २० देखि २३ तारिखसम्म भएको २० औं एसियाली खेलकुद तथा  योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म भएको ११ औं सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपका पदक विजेतासहितको टोली मंगलबार राती १०ः५१ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । दुवै प्रतियोगितामा नेपालबाट ३ पुरुष र ५ महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एसियाड खेलेका खेलाडीनै योकोहामामा भएको प्रतियोगितामा पनि सहभागी भएका थिए ।

एसियाली खेलकुदको करातेमा नेपालका तेन्जिङ शेर्पाले मात्र पदक जिते । उनले पुरुष ८४ केजीमाथि कांस्य पदक जितेका थिए । तेन्जिङको पदक २० औं एसियाडमा नेपालले जितेको पहिलो पदक हो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए ।

समग्र एसियाडको करातेमा तेन्जिङ पदक दिलाउने पाँचौ खेलाडी हुन् । यसअघि एसियाडमा करातेले १ रजत र ३ कांस्य जितेको थियो । १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य तथा सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत जितेका थिए ।

आठै खेलाडीले प्रतिस्पर्धा गरेको योकोहामाको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र ३ कांस्य गरी ६ पदक जितेको थियो । नेपालले व्यक्तिगत स्पर्धामा ४ र टिम स्पर्धामा २ गरी ६ पदक हात पारेको थियो ।

महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाए । महिला ६८ केजीमुनि निरुपा दोङ तामाङले रजत तथा पुरुष ६७ केजीमुनि मिनबहादुर तामाङले कांस्य जिते ।

दोहोरो पदक जितेका एरिका र निरुपाले महिला टिम कुमुते पनि कांस्य हात पारे । यो स्पर्धामा उनीहरुसहित मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङले प्रतिस्पर्धा गरेका थिए । मेघा, एलिसा र सानुमायाले महिला टिम काता पनि कांस्य प्राप्त गरे ।
एसियाली खेलकुदमा भाग लिएपछि नेपाली टोली जापानको नागोयाबाट योकोहामा भएको प्रतियोगितामा सहभागी भएको थियो।

पदक विजेता तेन्जिङले आफूले कराते यात्रा सुरु गरेको बौद्ध डोजोलगायत सहयोगी सम्पूर्णलाई धन्यवाद दिदै अझ लामो यात्रा तय गर्न बाँकी रहेको बताए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेपका सदस्य मोनालिशा खम्बु र ललिता नाथ, नेपाल कराते महासंघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले स्वागत गरेका थिए । 

खेलाडीसंगै टोलीका व्यवस्थापक कराते महासंघका अध्यक्ष युवराज लामा, कराते महासंघका महासचिव दावा गुरुङ तथा प्रशिक्षकद्वय कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ पनि स्वदेश फर्किएका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →