Share on:

कविताको ह्याट्रिकमा नेपालको शानदार जित, भानुअतु ८३ रनले पराजित
April 30th, 2026

काठमाडौं। रुवान्डामा जारी आइसिसी महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत नेपालले भानुअतुमाथि प्रभावशाली जित दर्ता गरेको छ। नेपालले भानुअतुलाई ८३ रनले हराउँदै प्रतियोगितामा मजबुत पुनरागमन गरेको हो।


नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको भानुअतु १६.४ ओभरमै अलआउट हुँदै ४९ रनमा सीमित रह्यो।


नेपालको जितमा कविता कुंवर नायिका बनिन्। उनले ह्याट्रिकसहित कुल ६ विकेट लिँदै विपक्षी ब्याटिङ लाइन ध्वस्त पारिन्। त्यस्तै पूजा महतो र रचना कुमारी चौधरीले समान २–२ विकेट लिए।


भानुअतुतर्फ ओपनर भलेन्ता लानगिअटुले १४ रन बनाउँदा नासिमना नभाइकाले ११ रन जोडिन्। अन्य खेलाडीले भने उल्लेख्य योगदान दिन सकेनन्।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १३२ रन बनाएको थियो। नेपालका लागि सम्झना खड्काले ५२ रनको अर्धशतकीय पारी खेलिन्। कप्तान इन्दु वर्माले ४३ रन बनाउँदा पूजा महतोले १९ रन थपिन्।


भानुअतुतर्फ कप्तान रचेल आन्द्रिउ, नथाइल काकोर र नासिमना नभाइकाले समान एक–एक विकेट लिए।


यस जितसँगै नेपालले अघिल्लो भेटमा भानुअतुसँग बेहोरेको २२ रनको हारको बदला लिएको छ। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि इटालीसँग प्रतिस्पर्धा गर्नेछ।


Swadesh Maharjan | April 30th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya