← समाचारमा फर्कनुस्
Football Jul 17, 2026 · Swadesh

यू–२३ राष्ट्रिय खेलाडी आशिष राईको उपचार तथा वर्तमान अवस्थाबारे एन्फाको जानकारी

यू–२३ राष्ट्रिय खेलाडी आशिष राईको उपचार तथा वर्तमान अवस्थाबारे एन्फाको जानकारी

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले विगत १७ महिनादेखि चोटग्रस्त यू–२३ राष्ट्रिय टोलीका खेलाडी आशिष राईको उपचार तथा पुनर्स्थापनाको सम्पूर्ण जिम्मेवारी आफूले निर्वाह गर्दै आएको जनाएको छ। खेलका क्रममा भएको दुर्घटनादेखि हालसम्मको उपचार प्रक्रिया र वर्तमान अवस्थाबारे एन्फाले विस्तृत जानकारी सार्वजनिक गरेको हो।

खेलका क्रममा गम्भीर चोट, दुई पटक शल्यक्रिया

सन् २०२५ फेब्रुअरी १५ मा चिनियाँ टोली युनानविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा आशिषको देब्रे खुट्टामा गम्भीर चोट लागेको थियो। दुर्घटनापछि उनलाई तत्काल स्टार अस्पताल पुर्‍याइएको थियो। एक्सरेपछि थप जटिलता देखिएपछि बीएन्डबी अस्पतालमा रिफर गरिएको एन्फाले जनाएको छ।

बीएन्डबी अस्पतालमा प्रा. डा. अमित जोशीको प्रत्यक्ष निगरानीमा पहिलो शल्यक्रिया गरिएको थियो। त्यसपछि ‘कम्पार्टमेन्ट सिन्ड्रोम’ देखिएपछि दोस्रो शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न गरिएको एन्फाले उल्लेख गरेको छ।

स्वदेशमा रिहाब र नियमित फलोअप

शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएका आशिषलाई एन्फा होस्टेलमा राखेर नियमित पुनर्स्थापना (रिहाब) गराइएको थियो। साथै डा. अमित जोशीसँग निरन्तर फलोअप उपचार पनि गराइएको एन्फाले जनाएको छ।

चीनमा ६ महिना उपचार

नेपालमा प्रारम्भिक उपचारपछि एन्फाको पहल तथा चिनियाँ दूतावासको समन्वय र सहयोगमा आशिषलाई थप उपचारका लागि करिब ६ महिनासम्म चीनको युनान पठाइएको थियो।

चीनमा उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उनी नेपाल फर्किएका थिए। त्यसपछि पनि सुविधासम्पन्न होटलमा राखेर नेपालका उत्कृष्ट रिहाब सेन्टरमार्फत उपचार तथा पुनर्स्थापनालाई निरन्तरता दिइएको एन्फाले जनाएको छ।

थप उपचारका लागि थाइल्यान्ड

सन् २०२६ अप्रिल ३० मा थप विशिष्ट उपचारका लागि आशिषलाई थाइल्यान्डस्थित बैंकक अस्पताल पठाइएको थियो। त्यसबेला उपचार खर्चबापत एन्फाले १० लाख रुपैयाँ निकासा गरेको जनाएको छ।

मे २०२६ मा बैंकक अस्पतालका चिकित्सकहरूले एक महिना थाइल्यान्डमा उपचार गरेपछि बाँकी रिहाब नेपालमै गर्न सकिने सुझाव दिएका थिए। चिकित्सकका अनुसार आशिषको देब्रे खुट्टाको हड्डी निको हुने क्रममा रहेको छ। खुट्टामा राखिएको मेटल प्लेट निकाल्न अझै कम्तीमा एक वर्ष लाग्ने र त्यसपछि मात्र उनी पुनः खेल्न सक्ने वा नसक्ने विषयमा निर्णय गर्न सकिने उल्लेख गरिएको छ।

भुक्तानीमा ढिलाइ हुनुको कारण

एन्फाका अनुसार चिकित्सकले नेपालमै रिहाब गर्न सुझाव दिए पनि आशिषले थाइल्यान्डमै उपचार जारी राख्न इच्छा व्यक्त गरेका थिए। सोहीअनुसार महासचिवबाट थप रकम निकासाको प्रक्रिया अघि बढाइएको थियो। तर त्यसैबेला एन्फा अन्तर्राष्ट्रिय निलम्बनमा परेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनअनुसार संघका सम्पूर्ण प्रशासनिक तथा आर्थिक कारोबार, बैंक खाता लगायतका गतिविधि रोकिएका कारण थप रकम तत्काल पठाउन प्राविधिक समस्या उत्पन्न भएको एन्फाले स्पष्ट पारेको छ।

उपचारको सम्पूर्ण जिम्मेवारी एन्फाकै

एन्फाले आशिष राईको उपचारमा हालसम्म लागेको सम्पूर्ण खर्च आफूले बेहोर्दै आएको र उनी पूर्ण रूपमा निको नहुन्जेलसम्म लाग्ने सम्पूर्ण उपचार खर्च पनि संघले नै व्यहोर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

साथै खेलका क्रममा घाइते हुने आशिष राईसहित अन्य सबै खेलाडीको उपचार र पुनर्स्थापनाको जिम्मेवारी सधैं निर्वाह गर्दै आएको उल्लेख गर्दै, संघमाथिको निलम्बनसम्बन्धी कानुनी तथा प्रशासनिक समस्या समाधान हुनासाथ रोकिएको भुक्तानी र थप उपचारको प्रक्रिया तत्काल अघि बढाइने एन्फाले जनाएको छ।

एन्फाले आशिषलाई पुनः खेल मैदानमा फर्काउन आवश्यक सबै जिम्मेवारी पूरा गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →