← समाचारमा फर्कनुस्
Football Aug 04, 2025 · Swadesh

आर्सनल: के फेरि दोस्रो स्थान नै ?

आर्सनल: के फेरि दोस्रो स्थान नै ?

(इंग्लिस प्रिमियर लिगको नयाँ सिजन अर्को सातादेखि सुरु हुँदैछ । वर्ष २०२५–२०२६ को सिजन कस्तो हुने हो त ? हामी लिगमा सहभागी हुने प्रत्येक टिमको छोटकरीमा विश्लेषण गर्दैछौं । त्यसको पहिलो भागका रूपमा आर्सनलबारे चर्चा गर्ने प्रयास गर्दैछौं ।)

आर्सनल इंग्लिस प्रिमियर लिगको पछिल्ला तीन सिजन लगातार दोस्रो स्थानमा रहेको छ । आर्सनल जत्तिको टिमका लागि यो उपलब्धी भन्दा पनि अप्ठ्यारो स्थिति हो । धेरैको अनुमान छ, यसपल्ट पनि आर्सनल दोस्रो स्थानमै रहनेछ, भलै उसले उपाधिका लागि चुनौती भने पेस गर्नेछ । आर्सनलले सन् २००४ देखि लिग उपाधि जित्न सकेको छैन् र यो लम्बिने डर कायम छ ।

प्रशिक्षक मिखेल आर्टेटाले अबको सिजन आफ्नो क्लबका लागि निकै महत्त्वको हुने बताइसकेका छन् । आर्सनलको नयाँ स्पोर्टिङ डाइरेक्टरका रूपमा आन्द्रे बेर्टा आएयता केही नयाँ खेलाडी भित्रिसकेका छन् । यस्तोमा प्रश्न हो, मार्टिन जुबिमेन्डी, क्रिस्टियन नोरगार्ड, नोनी माडुके, भिक्टर ग्योकेर्स, क्रिस्यिटन मोस्क्वेरा र केपा एरिजाबालागाको प्रदर्शन कस्तो रहनेछ ?

ग्योकेर्स आएयता आर्सनलको नम्बर ९ ‘पोजिसन’ बलियो भएको छ । तर यी स्विडेनी खेलाडीलाई आर्सनल आएयता ठूलो अपेक्षा रहनेछ, त्यसैले त्यो दबाब पनि हुनेछ । बुकायो साकाको खेल जादुयी हुने गर्छ, तर यो पनि आर्सनलका लागि उपाधिसम्म पुग्न पर्याप्त रहने गरेको छैन् । आर्सनलले यसपल्ट नयाँ खेलाडीकै लागि भनेर २० करोड पाउन्ड बढी खर्चिसकेको छ ।

गत सिजन च्याम्पियन लिभरपुल भन्दा आर्सनल १० अंकले पछाडि परेको थियो । आर्टेटा आर्सनल आएको पनि पाँच वर्ष भन्दा बढी भइसकेको छ । गत सिजन उनका लागि कुनै पनि उपाधि जित्न नसक्नु पीडाकै रूपमा रहेको छ । पछिल्लो त्यस सिजन खेलाडीको चोटले पनि आर्सनललाई नराम्रोसँग दुःख दिएकै थियो । फेरि त्यो सिजन आर्सनलका लागि कोही पनि एक खेलाडीले १० गोलको उपलब्धी छुन सकेन् ।

 ओडेगार्डले भने जस्तै आर्सनल टिममा सबथोक छ, तर एउटा गुण छैन् र त्यो हो, निर्णायक मोडमा अचुक रहनु । अझ भन्दा टिममा चाहिएको बेला चम्कने गुणको अभाव छ । त्यो भनेका ‘स्पार्क’ को कमी हो । त्यसैले त पछिल्लो केही सिजन आर्सनलको नियति कि त म्यानचेस्टर सिटी कि त लिभरपुलपछि दोस्रो स्थानमा रहनु नै रहेको छ । यसपल्ट पनि दोस्रो स्थानमा चित्त बुझाउनु परे, त्यो आर्सनलका लागि असफलता नै हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →