TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Basketball Mar 15, 2025 · Swadesh

क्लबस्तरीय ह्विलचियर बास्केटबल चैत ४ देखि

क्लबस्तरीय ह्विलचियर बास्केटबल चैत ४ देखि

चैत २ गते, काठमाडौं। अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा चैत ४ गतेदेखि सुरु हुने भएको छ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते हुने तय भएको हो। संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

संघका अनुसार दुई दिन चल्ने प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ ६ गरी १३ टोलीले सहभागिता जनाउने पक्का भएको हो। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार पुरुषतर्फ समूह ‘ए’ मा दुई विभागीय टोली एपिएफ र आर्मीसहित इस्पाइनल कट इन्जरी नेटवर्क नेपाल (एससिआइएनएन) र ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) छन्।

अर्को समूहमा बिआइए, नेपाल आदिवासी जनजाती अपांग संघ (एनआइडिए) र आयोजक टोली एनएससिआइए छन्। महिलातर्फ भने समूह ‘ए’ मा एससिआइएनएन, राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए छन्। अर्को समूहमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी), डब्ल्युएसए र बिआइए छन्।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको पहिलो दिन १५ खेल हुनेछन्। यी सबै लिग चरणका खेल सकिएसँगै दोस्रो दिन सेमिफाइनल, फाइनल, तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा हुने टेक्निकल हेड होनाले जानकारी दिए।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनल विजेताले फाइनलमा स्थान बनाउने छन्। ‘पराजित हुने दुई/दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्,’ उनले भने।

प्रतियोगिताको पहिलो खेलमा पुरुषतर्फ एपिएफ र एससिआइएनएन भिड्ने छन्। महिलातर्फ जावलाखेलले डब्ल्युएसएलाई चुनौती प्रस्तुत गर्नेछन्।

संघका अध्यक्ष देवी आचार्यका अनुसार महिला र पुरुष दुवै टिमको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रोले ४० र तेस्रोले ३० हजार रुपैयाँ पाउने छन्। प्रतियोगिताको हाइ स्कोरर र सर्वोत्कृष्ट खेलाडीले समान तीन हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई जर्सीसहित प्रतिदिन एक हजार रुपैयाँ दरले यातायात खर्च र खाना खाजासमेत उपलब्ध गराइने उनले जानकारी दिइन्।

यस प्रतियोगिता सम्पन्न गर्न १२ लाख २९ हजार रुपैयाँ लाग्ने आचार्यले जानकारी दिइन्। ‘मिति सर्दै जाँदा बल्लतल्ल ४ र ५ गते समय पाएका हौं। त्यसैले अनिश्चितता हुँदा तयारीका लागि पर्याप्त समय नै पाइनौं। छोटो समयमै विभिन्न निकायहरूमा आर्थिक सहयोग गर्न अनुरोध गरेका थियौं। तर, त्यसअनुसार सहयोग पाएनौं,’ उनले भनिनन्।

उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश र प्रदेश खेलकुद विकास परिषद्बाट मात्रै सहयोग प्राप्त भएको छ। हालसम्म १० लाख रुपैयाँ उठेको अध्यक्ष आचार्यले जानकारी दिइन्। यसपल्ट राखेपले भेन्यु उपलब्ध गराएको छ। यस्तै, नेपाल बास्केटबल संघ र एनएससिआइएले सहकार्य गर्नेछन्।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष आचार्य र टेक्निकल हेड होना, महासचिव राजु खड्का, उपाध्यक्ष सुन्दर राई, सचिव रवीन्द्र खड्का, वरिष्ठ सदस्य अनन्त राईलगायतको उपस्थिति थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →