विश्वकप छनोट : प्रारम्भिक टोलीमा ३० खेलाडीलाई बोलाइयो

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले फिफा विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एनिसले आइतबार प्रारम्भिक टोलीमा ३० खेलाडीलाई बोलाएका हुन्।
बन्द प्रशिक्षण साउन १६ गतेदेखि शुरू हुनेछ। एनिसले बोलाएको बन्द प्रशिक्षणमा यसपटक साफ च्याम्पियनसिप खेल्न भारत पुगेका टोलीमा रहेका केही खेलाडीलाई हटाएका छन्। नियमित गोलरक्षक तथा कप्तान किरण चेम्जोङले निरन्तरता पाएका छन्। यद्यपि, साफ च्याम्पियनसिप खेल्न भारत उडेका मछिन्द्र फुटबल क्लबका विशाल श्रेष्ठ भने बाहिरिएका छन्। उनको स्थानमा जावलाखेल युथ क्लबका अनिश देउला र सातदोबाटो युथ क्लबका अभिषेक बराललाई बोलाइएको छ। मनाङ मर्स्याङ्दीका कप्तान तथा गोलरक्षक दीप कार्कीले भने निरन्तरता पाएका छन्।
यस्तै, डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, रोहित चन्द र सिमन्त थापालाई निरन्तरता दिइएको छ। साफ खेल्ने टोलीमा रहेका निशान्त खड्कालाई भने यसपटक प्रशिक्षणमा बोलाइएको छैन। यद्यपि, मछिन्द्रका आशिष गुरुङ, फ्रेन्ड्सका एन्जल महर्जन, जावलाखेका छिरिङ लामा र पुलिसका अन्जन राईलाई प्रशिक्षणमा बोलाइएको छ।
मिडफिल्डरमा एरिक विष्ट, लकेन लिम्बु, आवास लामिछानेलाई पुन: बोलाइएको छ। यद्यपि, एपीएफका कप्तान नविन लामा र मणीकुमार लामालाई भने यसपटक प्रशिक्षणमा बोलाइएको छैन। उनीहरूले साफ खेलेका थिए।
सातदोबाटोका सुदीप गुरुङ, मछिन्द्रका उत्सव राई, जावलाखेलका विशाल तामाङ, चर्च ब्वाइजका विवेक पौडेल र एनआरटीका कृतिशरत्न छिन्जुलाई प्रशिक्षणमा बोलाइएको छ।
फरवार्डमा आयुष घलान , नवयुग श्रेष्ठ , अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्ती मगरलाई पुन: बोलाइएको छ। यद्यपि, साफ टोलीमा रहेका सातोबाटोका सर्वाधिक गोलकर्ता दीपकराज सिंह ठकुरी भने अटाउन सकेनन्।
यसपटक आर्मीका जिलेस्पीजंग कार्की र दिनेश हेन्जनले प्रशिक्षणमा स्थान बनाएका छन्। दीनेश, जिलेस्पी, सुदीप, आशिष, एन्जल र विशाल साफको अन्तिम टोलीमा पर्न असफल भएका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |