← समाचारमा फर्कनुस्
Top Headlines Jul 22, 2026 · Swadesh

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौं १८ गते, गोल्छा ग्रुपसँग सम्झौता नविकरण

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौं १८ गते, गोल्छा ग्रुपसँग सम्झौता नविकरण

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को मिति घोषणा भएको छ । बुधबार मञ्चले काठमाडौंमा एक कार्यक्रम गर्दै अवार्डको २३औं संस्करण भदौं १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा गर्ने घोषणा गरेको हो । 

अवार्डको लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ । गोल्छा ग्रुप लगातार १९औं पटक अवार्डसँग जोडिएको हो । दुईबीच अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता भएको थियो । जुन दोस्रो वर्षमा चलिरहेको छ । 

सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे । हस्ताक्षरपछि निर्देशक गोल्छाले लगातार अवार्डसँग जोडिन पाउँदा खुसी भएको बताउँदै नेपाली खेलकुदको स्तरवृद्धि गर्न आफूहरु निरन्तर लागिपरेको जानकारी गराए । 'मञ्चसंग हामी लगातार १९ वर्ष जोडिन पाउँदा गर्व गर्छौ । हामी खेलकुदमा लगातारसँगै हिडिरहेको छौ । तर, मञ्चसंगको सम्बन्ध फरक भैसकेको छ । मञ्चलाई सफलताको लागि शुभकामना ।'   

मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपसँग लगातार हातेमालो गर्दा अवार्डलाई झनै व्यवस्थित र निरन्तरता दिन सहज भएको बताउँदै गोल्छा ग्रुपलाई धन्यवाद दिए । 

मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा ९ विधामा अवार्ड प्रदान गरिने जानकारी गराएका छन् । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड,  पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।  

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने पनि महासचिव खड्काले जानकारी गराए । यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ । मनोनयनमा ५–५ जना रहने प्रावधान छ । 

लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ । भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिटै सार्वजनिक गरिने महासचिव खड्काले जानकारी गराएका छन् । 

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । 

यसैगरी, पल्सर स्पोर्ट्स अवार्ड २०८२ लाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ । 

 गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पुजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए । 

स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित गरिएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →