खेल पत्रकारको मतदानमा मेस्सी उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ।
विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले कुल १,१७९ अंक प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अंक) र इङ्ल्यान्डका जुड बेलिङ्घम (४७० अंक) लाई पछि पारेका थिए।
एआईपीएसले आयोजना गरेको मतदानमा एआईपीएस कार्डधारी खेल पत्रकारहरू तथा एआईपीएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका पत्रकारहरू मतदाता रहेका थिए। उनीहरूले विश्वकपका उत्कृष्ट तीन खेलाडीलाई प्राथमिकताको आधारमा छनोट गरेका थिए।
मतदान प्रणालीअनुसार पहिलो स्थानका खेलाडीले पाँच अंक, दोस्रो स्थानले तीन अंक र तेस्रो स्थानले एक अंक प्राप्त गरेका थिए। जुलाई १३ मा सार्वजनिक गरिएको अन्तिम सूचीमा २० खेलाडी समावेश थिए। विश्वभरका खेल पत्रकारहरूको मतका आधारमा लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को एआईपीएस उत्कृष्ट खेलाडी घोषित गरिएको हो।
लियोनेल मेस्सी
३९ वर्षीय मेस्सी विश्वकपको इतिहासमा छ संस्करण खेल्ने तीन खेलाडीमध्ये एक बन्दै २०२६ को विश्वकपमा सहभागी भएका थिए। लगातार दोस्रो विश्वकप उपाधिबाट उनी एक जितले मात्र टाढा रहे पनि उनले आफ्नो उमेरलाई चुनौती दिने अद्भुत प्रदर्शनमार्फत विश्व फुटबललाई फेरि एकपटक मोहित बनाए।
स्पेनसँगको हारपछि मेस्सी भावुक बनेका थिए। अर्जेन्टिनी समर्थकहरूले उनको नाम गुञ्जाइरहँदा उनी आँसुमा डुबेका थिए। उनले सोमबार इन्स्टाग्राममार्फत भनेका थिए, "यो पीडा असाध्यै ठूलो छ। यो घाउ निको हुन समय लाग्नेछ। तर हामीले अन्तिमसम्म दिएको संघर्ष, असम्भव जस्ता खेललाई जितमा बदल्दै सिर्जना गरेका अविस्मरणीय क्षणहरूलाई म सधैं सम्झिरहनेछु।"
अर्जेन्टिनाको धड्कन
२०२६ को विश्वकपमा अर्जेन्टिनी टोलीका प्रशिक्षक लियोनेल स्कालोनीको टोलीका लागि मेस्सी वास्तविक धड्कन बने। विशेषगरी निर्णायक क्षणहरूमा उनले टोलीलाई नेतृत्व प्रदान गरे। आठ खेलमा आठ गोल र चार असिस्ट गर्दै उनले अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले।
अर्जेन्टिनाले प्रतियोगिताभर कठिन अवस्थाबाट खेललाई आफ्नो पक्षमा पार्ने र अतिरिक्त समयमा संघर्ष गरेर जित निकाल्ने कला प्रदर्शन गरेको थियो, जसको केन्द्रमा मेस्सी नै थिए।
ऐतिहासिक कीर्तिमानहरू
मेस्सीले २०२६ को विश्वकपपछि आफ्नो नाममा अनेकौं कीर्तिमान थपेका छन्। पुरुष र महिला दुवै विश्वकपलाई समेट्दा उनी विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन्। विश्वकपमा उनको कुल गोल संख्या २१ पुगेको छ भने किलियन एम्बाप्पेको २२ गोल रहेको छ। त्यस्तै विश्वकप इतिहासमा सर्वाधिक १२ असिस्ट गर्ने खेलाडी पनि उनी नै हुन्। उनको नाममा थुप्रै कीर्तिमानहरु पनि छन्। उनी विश्वकपमा सर्वाधिक ३४ खेल खेल्ने, विश्वकपमा सर्वाधिक २३ खेल जित्ने, नकआउट चरणमा सर्वाधिक १७ खेल खेल्ने, लगातार नौ विश्वकप खेलमा गोल गर्ने कीर्तिमान तथा किशोरावस्था २० र ३० को दशकमा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी हुन्।
६ पटकको विश्वकप यात्रामा मेस्सीले अर्जेन्टिनालाई तीन पटक फाइनलमा पुर्याएका छन्। उनले २०२२ मा विश्वकप जितेका थिए। विश्वकपमा एकभन्दा बढी पटक गोल्डेन बल जित्ने उनी एकमात्र खेलाडी हुन्। २०२६ मा उनले सिल्भर बल पुरस्कार प्राप्त गरेका थिए।
किलियन एम्बाप्पे
२७ वर्षीय फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले फ्रान्सलाई लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेले। उनले प्रतियोगितामा १० गोल गर्दै तीन विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्याए र विश्वकप इतिहासको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए।
सन् २०१८ को विश्व च्याम्पियन तथा २०२२ को उपविजेता फ्रान्सले यस पटक पदकविहीन रूपमा प्रतियोगिता समाप्त गर्यो। इङ्ल्यान्डसँगको रोमाञ्चक तेस्रो स्थानको खेलमा फ्रान्स ६–४ ले पराजित भएको थियो।
यद्यपि उक्त खेलमा दुई गोल गरेका एम्बाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट जित्दै विश्वकप इतिहासमा दुई पटक सर्वाधिक गोलकर्ता बन्ने पहिलो खेलाडीको कीर्तिमान कायम गरे। उनले आफूलाई विश्व फुटबलका महान् स्ट्राइकरहरूमध्ये एकका रूपमा थप स्थापित गरेका छन्।
जुड बेलिङ्घम
विश्व फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिने जुड बेलिङ्घम २०२६ को विश्वकपमा इङ्ल्यान्डका नायक बने। उनले सात गोल गर्दै आफ्नो टोलीलाई तेस्रो स्थान दिलाए। विश्वकप इतिहासमा कुनै मिडफिल्डरले गरेको यो सर्वाधिक गोल हो। २३ वर्षीय बेलिङ्घमले एकै विश्वकप संस्करणमा सर्वाधिक गोल गर्ने इङ्लिस खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। अन्तिम १६ मा मेक्सिकोविरुद्ध तथा क्वार्टरफाइनलमा नर्वेविरुद्ध दुई–दुई गोल गर्दै उनले सन् १९८६ मा डिएगो म्याराडोनापछि लगातार दुई नकआउट खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |