भुटानलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

साविक विजेता भारतले शनिबार ढाकास्थित राष्ट्रिय रंगशालामा भएको साफ च्याम्पियनसिप २०२६ को पहिलो सेमिफाइनलमा भुटानलाई २-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। भारतले कीर्तिमानी दशौं उपाधिको खोजीमा रहेको छ ।
भारतले पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको थियो। नवौं मिनेटमा विष्णु पीभीले व्यक्तिगत प्रयासमा गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यसपछि २७औं मिनेटमा कप्तान चिङलेनसाना सिंह कोन्शामले कर्नरबाट आएको बललाई जालमा पुर्याउँदै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा भुटानले जोसिलो पुनरागमनको प्रयास गर्यो। खेल सुरु भएको तेस्रो मिनेटमै किन्जाङ ताशी तोब्देनले गोल गर्दै भुटानलाई खेलमा फर्काए। सुरुमा सहायक रेफ्रीले अफसाइडको झन्डा उठाए पनि भीएआर (भिडियो सहायक रेफ्री) को समीक्षापछि गोल मान्य भएको थियो ।
यसैगरी ६४औं मिनेटमा भारतले पेनाल्टी पाएको अवस्थामा पनि भीएआरको सहायताले निर्णय उल्टाइएको थियो। उक्त पेनाल्टी रद्द भएपछि भुटानले राहत पाएको थियो । उल्लेखनीय छ, यो साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक भीएआर प्रविधि प्रयोग गरिएको हो ।
खेलको अन्त्यतिर भारतका सुहाइल अहमद भटले गोल गर्ने सुनौलो अवसर पाए पनि उनको प्रहार क्रसबारमा लागेर फर्कियो। भुटानले पनि इन्जुरी टाइममा बराबरीको लागि दबाब बनाए पनि सफल हुन सकेन ।
यो जितसँगै भारतले १७ नोभेम्बरमा हुने फाइनलमा स्थान पक्का गरेको छ। फाइनलमा भारतको प्रतिद्वन्द्वी आयोजक बंगलादेश र पाकिस्तानबीचको दोस्रो सेमिफाइनलबाट निर्धारण हुनेछ ।
भुटान भने १८ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको थियो, तर सन् २००८ मा जस्तै यस पटक पनि भारतसँगै २-१ ले पराजित हुँदै फाइनल यात्रा तय गर्न सकेन ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |