TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 09, 2026 · Swadesh

समूह ‘एच’: ‘डेब्यु’को तयारीमा केप भेर्डे, स्पेन र उरुग्वेबीच महाभिडन्त

समूह ‘एच’: ‘डेब्यु’को तयारीमा केप भेर्डे, स्पेन र उरुग्वेबीच महाभिडन्त


काठमाडौं । युरोपियन च्याम्पियन स्पेन र दक्षिण अमेरिकी महारथी उरुग्वेको उपस्थितीले आसन्न विश्वकपको समूह ‘एच’लाई रोमाञ्चक बनाएको छ, जहाँ यी दुवै फुटबल शक्तिले चार वर्षअघि लियोनेल मेसीको अर्जेन्टिनालाई स्तव्ध पारेको साउदी अरेबियाको चुनौती पार लगाउनुपर्नेछ । अनि अन्तर्राष्ट्रिय फुटबलको सबभन्दा ठूलो राजमार्गमा गति समाउने प्रयासमा रहेको सानो नवप्रवेशी केप भेर्डेलाई यात्राका लागि समाहित गर्नुपर्नेछ ।


समूहमा एउटाबाहेक सबै खेल अमेरिकामै हुनेछन् । अमेरिकाबाहिर हुने एकमात्र खेल भनेको बहुप्रतिक्षित उरुग्वे र स्पेनबीचको खेल हो । उक्त खेल जुन २६ मा मेक्सिकोको ग्वाडालाजारामा हुनेछ । 


विगतमा यी दुई टिमबीच विश्वकपमा दुई पटक भेट भएको थियो । पहिलो पटक सन् १९५० र दोस्रो पटक सन् १९९० मा भेट हुँदा दुईबीच बराबरी नतिजा निस्किएको थियो । १९५० मा फाइनल राउन्डमा दुई टिमबीचको नतिजा २–२ को बराबरी थियो । 


फाइनल राउन्डमा चार टिमबीचको राउन्ड रोबिन प्रतिस्पर्धामा बाजी मार्दै उरुग्वे उक्त संस्करणको च्याम्पियन भएको थियो । स्पेनले भने चौथो स्थानमा चित्त बुझाएको थियो । सन् १९९० मा भने दुई टिम एउटै समूह ‘इ’मा पर्दा गोलरहित बराबरी नतिजा निस्किएको थियो । 


स्पेनका बाँकी दुई खेल एट्लान्टामा हुनेछन् भने उरुग्वे संलग्न रहने अर्का दुई खेल मायमीमा हुने तय छ । केप भेर्डे र साउदी अरेबियाबीच हुने समूहको अर्को खेल चाँही ह्युस्टनमा हुनेछ । 



स्पेन

चार वर्षअघि कतारमा अफ्रिकी टोली मोरक्कोसँग पराजित हुँदै अन्तिम १६ बाट घर फर्किनु स्पेनका लागि निराशाजनक नतिजा थियो । तर त्यसबाट तत्काल पुनरागमन जनाउने क्रममा टोलीले सन् २०२४ मा युरोपियन च्याम्पियनसिप जित्यो । टोली युरोपियन नेशन्स लिग २०२३ को पनि च्याम्पियन हो । साथै नेशन्स लिगको २०२५ को संस्करणमा पोर्चुगल च्याम्पियन हुँदा स्पेन उपविजेता भएको थियो । 


१६ पटक विश्वकप खेलिसके पनि स्पेनले उपाधि चाँही एक पटकमात्र जितेको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपको फाइनलमा नेदरल्यान्ड्समाथि जित हासिल गर्दै स्पेन पहिलो पटक विश्व च्याम्पियन भएको थियो । 


दक्षिण अफ्रिकामा च्याम्पियन भएयता कुनै पनि विश्वकपमा अन्तिम १६ भन्दा अगाडि बढ्न नसकेको स्पेनिस टिम अहिले प्रशिक्षक लुइस डे ला फोन्टेको नेतृत्वमा छ । विश्वकप २०२२ पछि राजीनामा दिएका तत्कालिन प्रशिक्षक लुइस इनरिकेलाई स्थानान्तरण गर्दै स्पेनिस उमेर समूहका पूर्व प्रशिक्षक फोन्टेले टिमको नेतृत्व लिएका हुन् ।  


फोन्टेले विश्वकपका लागि रियाल मड्रिडका एकजना पनि खेलाडीलाई टिममा समावेश गरेका छैनन् । जवकि बार्सिलोनाका ८ खेलाडी उनको विश्वकपमा छन् । फोन्टेले विश्वकपका खेलहरुमा बार्सिलोनाका तीन खेलाडीलाई नै नेतृत्वदायी जिम्मेवारी दिने निश्चित छ । 


आक्रमणमा १८ वर्षे लामिन यमालले विश्वकपमा ‘डेब्यु’ जनाउने छन् । यसैगरी रक्षापंक्तिमा १९ वर्षे पाउ कुबार्सीले नेतृत्व गर्नेछन् । त्यस्तै मिड्फिल्डमा पेड्रीको नेतृत्वमा म्यानचेस्टर सिटीका रोड्रीको उपस्थिती हुनेछ । लामो समयदेखि घुँडाको चोटबाट पीडित हुँदै आए पनि विश्वकपका खेल सुरु हुँदासम्म रोड्री पूर्ण रुपमा फिट भइसक्ने अपेक्षा छ । 


टिम स्पेन
गोलकिपरः युनाइ सिमोन (एथलेटिक क्लब), डेविड राया (आर्सनल), जोन गार्सिया (बार्सिलोना)
रक्षकः एमेरिक लापोर्टे (एथलेटिक क्लब), मार्क कुकुरेला (चेल्सी), मार्कोस लोरेन्टे (एट्लेटिको मड्रिड), इरिक गार्सिया (बार्सिलोना), पेड्रो पोरो (टोटनहम), एलेक्स ग्रिमाल्डो (बायर लेभरकुसन), पाउ कुबार्सी (बार्सिलोना), मार्क पुबिल (एट्लेटिको मड्रिड)

मिड्फिल्डरः रोड्री (म्यानचेस्टर सिटी), फाबियन रुइज (पेरिस सेन्ट जर्मेन), मिकेल मेरिनो (आर्सनल), पेड्री (बार्सिलोना), गाभी (बार्सिलोना), मार्टिन जुबिमेन्डी (आर्सनल), एलेक्स बाइना (एट्लेटिको मड्रिड)
फरवार्डः फेरान टोरेस (बार्सिलोना), मिकेल ओयार्जाबाल (रियाल सोसिडाड), ड्यानी ओल्मो (बार्सिलोना), निको विलियम्स (एथलेटिक क्लब), लामिन यमाल (बार्सिलोना), येरेमी पिनो (क्रिस्टल प्यालेस), बोर्जा इग्लेसियास (सेल्टा भिगो), भिक्टर मुनोज (ओसासुना)
प्रशिक्षकः लुइस डी ला फोन्टे


केप भेर्डे

जुन ११ बाट सुरु हुने विश्वकपका लागि छनोट भएका ४८ देशमध्ये ५ लाख जनसंख्या भएको केप भेर्डे भुगोलका आधारमा तेस्रो सानो देश हो । आसन्न विश्वकप खेल्ने तयारीमा रहेकामध्ये केप भेर्डेभन्दा साना देश आइसल्यान्ड र कुराकाओमात्र हुन् । 

अफ्रिकाको पश्चिमी तटबाहिर रहेका १० ज्वालामूखि टापूहरुको देश केप भेर्डेले छनोट चरणमा अफ्रिकी महारथी क्यामरुन र एङ्गोलासमेत रहेको आफ्नो समूहको विजेता बन्दै सोझै विश्वकपको टिकट काटेको थियो । अफ्रिकाले सोझै पाउने ९ कोटामध्ये एक हासिल गर्ने क्रममा केप भेर्डेले घरमा खेलेका सबै ५ खेलमा जित हासिल गरेको थियो । त्यसक्रममा टोलीले एउटै गोल खाएको थिएन । 

स्पेन र पोर्चुगलका साना क्लबहरुबाट खेलेका केप भेर्डेका पूर्व कप्तान पेड्रो लिटाओ ब्रिटो टोलीका प्रशिक्षक हुन् । सन् २०२० बाट निरन्तर प्रशिक्षकको भूमिकामा रहेका बुबिस्टा उपनामले परिचित ब्रिटो छनोट चरणमा जस्तै सुखद नतिजा विश्वकपमा पनि ल्याउनेमा आशावादी छन् । 

टिम केप भेर्डे
गोलकिपरः भोजिन्हा (चाभेस), मार्सियो रोसा (मोन्टाना), सिजे डस सान्तोस (सान डिएगो)
रक्षकः स्टोपिरा (टोरेन्से), रोबर्टो लोपेज (शामरक रोभर्स), जोआओ पाउलो (एफसिएसबी), डिने (अल बातेह), लोगान कोस्टा (भियारियाल), स्टेभन मोरेइरा (कोलम्बस क्रयु), वाग्नर पिना (ट्राब्जोन्सपर), सिड्नी लोपेज काब्राल (बेन्फिका), केल्भिन पिरेज (एसजेके)

मिड्फिल्डरः जामिरो मोन्टेइरो (पिइसी ज्वोले), केभिन पिना (क्रास्नोडार), डेरोए डुआर्टे (लुडोगोरेट्स), टेल्मो अर्कान्जो (भिक्टोरिया गुइमारेस), लारोस डुआर्टे (पुस्कास एकाडेमिया), यानिक सेमेडो (फेरेन्से)
फरवार्डः रायन मेन्डेज (इड्गिर), ग्यारी रोडरिग्वेज (एपोलोन लिमासोल), विली सेमेडो (ओमोनिया), योभाने काब्राल (इस्ट्रिला एमाडोरा), गिल्सन ताभारेज (एक्रोन टोल्याटी), डाइलन लिभ्रामेन्टो (कासा पिया), हेलियो भारेला (मकाबी तेल अभिभ), नुनो डा कोस्टा (इस्तानबुल बासाकसेहिर)
प्रशिक्षकः बुबिस्टा


साउदी अरेबिया

साउदी अरेबियाको यो लगातार तेस्रो विश्वकप हो । चार वर्षअघि कतारमा समूह चरणको खेलमा लियोनेल मेसीको अर्जेन्टिनालाई २–१ को नतिजामा स्तव्ध पारेपछि साउदी अरेबियाले विश्वव्यापी चर्चा बटुलेको थियो । 


विश्व फुटबलमा ठूलो महत्वाकांक्षा बोकेर अघि बढेको साउदीले फुटबलकै लागि वर्षेनी अर्बौ डलर खर्चिरहेको छ । घरेलु साउदी प्रो लिगको स्तरोन्नतिका लागि क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाजस्ता थुप्रै विश्वस्तरीय स्टारहरुलाई साउदी अरेबियाले आफूसँग अनुबन्ध गरिसकेको छ । जसका कारण फ्रान्सेली प्रशिक्षक हेर्भे रेनार्डको नेतृत्वमा रहेको साउदी राष्ट्रिय टोलीको स्तर पनि माथि उक्लँदो छ । 


सन् २०२२ को कतार विश्वकपमा पनि साउदीको टोली रेनार्डकै नेतृत्वमा थियो । तर त्यो विश्वकपपछि उनले फ्रान्सको महिला टिममा जिम्मेवारी लिनका लागि साउदी छोडेका थिए । पछि सन् २०२४ मा फेरि उनी साउदीको टिममा फर्किएका हुन् । 


साउदी अरेबियाले पहिलो पटक विश्वकपमा छनोट हुँदा सन् १९९४ मा नै अन्तिम १६ को यात्रा गरेको थियो । त्यही टोलीको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट नतिजा हो । त्यतिबेला साउदीले नेदरल्यान्ड्स, बेल्जियम र मोरक्को सम्मिलित टोलीबाट उपविजेता बन्दै नकआउट चरणको यात्रा गरेको थियो । त्यसयता पाँच पटक विश्वकपमा सहभागिता जनाए पनि टोली समूह चरणबाट अगाडि बढ्न सकेको छैन । 


साउदी अरेबिया सन् २०३४ मा हुने २२औं विश्वकपको आयोजक हो । 


टिम साउदी अरेबिया
गोलकिपरः मोहमेद अल ओवाइस (अल उला), नवाफ अल अकिदी (अल नासर), अहमद अल कासर (अल कदसिस)
रक्षकः अब्दुल्लाह अल अमरी (अल नासर), हसन ताम्बाक्ती (अल हिलाल), जाहेद थिक्री (अल कदसिस), अली लाजमी (अल हिलाल), हसन कदेस (अल इत्तिहाद), साउद अब्दुल्लाहमिद (एएस रोमाबाट लोनमा लेन्स), मोहम्मद अबु अल शामत (अल कदसिया), अली मज्राशी (अल आहली), मोटेब अल हार्बी (अल हिलाल), नवाफ बौशाल (अल नासर), सुल्तान अल घान्नाम (अल नासर)

मिड्फिल्डरः मोहम्मद कानो (अल हिलाल), अब्दुल्लाह अल खाइबारी (अल नासर), जियाद अल जोहानी (अल आहली), नासर अल डावसारी (अल हिलाल), मुसाब अल जुवाएर (अल कदसिया), आला अल हाजी (नियोम), सलिम अल डावसरी (अल हिलाल), खालिद अल घान्नाम (अल इत्तिफाक), ऐमन याहया (अल नासर)
फरवार्डः फिरास अल बुराइकान (अल आहली), सालेह अल शेहरी (अल इत्तिहाद), अब्दुल्लाह अल हाम्दान (अल नासर)
प्रशिक्षकः जर्जियोस डोनिस


उरुग्वे

दुई पटकको च्याम्पियन उरुग्वे दक्षिण अमेरिकी छनोट प्रतियोगितामा चौथो स्थान हासिल गर्दै उत्तर अमेरिकी विश्वकपलाई छानिएको हो । उरुग्वेभन्दा माथि साविक विजेता अर्जेन्टिना, इक्वेडर र कोलम्बिया छन् भने पाँच पटकको च्याम्पियन ब्राजिल उरुग्वेभन्दा पछाथि थियो । 


अन्तर्राष्ट्रिय फुटबलमा सधै बलियो टोलीका साथ उपस्थित हुने गरेको उरुग्वे चार वर्षअघि कतारमा समूह चरणबाटै बाहिरिएको थियो । रुस २०१८ मा क्वार्टरफाइनल तथा दक्षिण अफ्रिका २०१० मा सेमिफाइनल पुगेको टोलीलाई यसपाली विश्वकपमा सफलताको बाटोमा डोर्याउने जिम्मेवारी अर्जेन्टिनी प्रशिक्षक मार्सेलो विएल्साले लिएका छन् । 


विएल्सा सन् २०२३ यता लगातार उरुग्वेको टिमको नेतृत्वमा छन् । पछिल्लो समय मैत्रीपूर्ण खेलहरुमा लगातार कमजोर नतिजा आत्मसात गर्नुपरेपछि उनको व्यापक आलोचना भइरहेको छ । नोभेम्बरमा अमेरिकासँग ५–१ को अन्तरमा पराजित भएपछि त उनको निक्कै कडा आलोचना भएको थियो । 


रियाल मड्रिडका सेन्ट्रल मिड्फिल्डर फेडेरिको भाल्भेर्डे, बार्सिलोनाका सेन्टर ब्याक रोनाल्ड अराउजो र म्यानचेस्टर युनाइटेडका डिफेन्सिभ मिड्फिल्डर म्यानुअल उगार्टे उरुग्वेको टिमका हेर्न लायक खेलाडी हुन् । 

टिम उरुग्वे

गोलकिपरः सर्जियो रोचेट (इन्टरनेसनल), फर्नान्डो मुस्लेरा (इस्टुडियान्टेस), सान्टियागो मेले (मोन्टेरे)

रक्षकः गुइलेर्मो भारेला (फ्लेमिङ्गो), रोनाल्ड अराउजो (बार्सिलोना), होसे मारिया जेमिनेज (एट्लेटिको मड्रिड), सान्टियागो बुइनो (उल्भस), सेवास्टिन काकेरेस (क्लब अमेरिका), माथियास ओलिभेरा (नापोली), जोआक्विन पिकेरेज (पाल्मेइरास), माटियास भिना (फ्लेमिङ्गो), हुँवा म्यानुअल सानाब्रिया (रियाल साल्ट लेक)

मिडफिल्डरः म्यानुअल उगार्टे (म्यानचेस्टर युनाइटेड०, इमिलियानो मार्टिनेज (पाल्मेइरास), रोडरिगो बेन्टान्कर (टोटनहम), फेडेरिको भाल्भेर्डे (रियाल मड्रिड), अगस्टिन क्यानोबियो (फ्लुमिनेन्से), जर्जियन डी एरास्काइटा (फ्लेमिङ्गो), निकोलस डे ला क्रुज (फ्लेमिङ्गो), फाकुन्डो पेलिस्ट्री (पानाथिनाइकोस), रोडरिगो जालाजार (ब्रागा), म्याक्सी अराउजो (स्र्पोटिङ), ब्रायन रोडरिग्वेज (क्लब अमेरिका)

फरवार्डः रोडरिगो अग्विरे (क्लब अमेरिका), फेडेरिको भिनास (रियाल ओभिइडो), डार्विन नुनेज (अल हिलाल)


प्रशिक्षकः मार्सेलो विएल्सा

समूह ‘एच’ खेलतालिका (नेपाली समयअनुसार)
– स्पेन विरुद्ध केप भेर्डे, १५ जुन, राती २१ः४५ बजे, मर्सिडिज बेन्ज रंगशाला (एट्लान्टा)
– साउदी अरेबिया विरुद्ध उरुग्वे, १६ जुन, बिहान ०३ः४५ बजे, हार्डरक रंगशाला (मायमी)
– स्पेन विरुद्ध साउदी अरेबिया, २१ जुन, राती २१ः४५ बजे, मर्सिडिज बेन्ज रंगशाला (एट्लान्टा)
– उरुग्वे विरुद्ध केप भेर्डे, २२ जुन, बिहान ०३ः४५ बजे, हार्डरक रंगशाला (मायमी)
– केप भेर्डे विरुद्ध साउदी अरेबिया, २७ जुन, बिहान ०५ः४५ बजे, एनआरजी रंगशाला (ह्युस्टन)
– उरुग्वे विरुद्ध स्पेन, २७ जुन, बिहान ०५ः४५ बजे, स्टेडियो ग्वाडालाजारा (जापोपान, मेक्सिको)

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →