युभेन्टस क्वाटरफाइनलमा
1 min read
जेनोआलाई पराजित गर्दै युभेन्टस कोप्पा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गय राती सम्पन्न ‘अन्तिम १६’ को खेलमा युभेले जेनोआमाथि ३-२ गोलको जित हात पारेको हो।
घरेलु मैदानमा डिजेन कुलुसेभ्स्किको गोलमार्फत युभेले सुरुवाती अग्रता बनायो। कुलुसेभ्स्किले खेलको दोस्रो मिनेटमै जर्जियो केलिनिको पासमा उत्कृष्ट फर्ट टच निकाल्दै सानदार गोल गरेका थिए।
लगत्तै २३अौं मिनेटमा अल्भारो मोराटाले युभेको अग्रता दोब्बर बनाए। मोराटाले कुलुसेभ्स्किको बलमा वान अन वानको स्थितिमा गोल गरेका थिए।
२८अौं मिनेटमा जेनोआले एक गोल फर्कायो। एडोआर्डो गोल्डानेगाको क्रसमा लेनार्ट जाइबोराले गरेको हेडर युभेका गोलरक्षक जियानलुइजि बुफोनले डाइभ गर्दै बचाउन गरेको प्रयास असफल बन्यो।
पहिलो हाफमा एक गोलले पछि परेको जेनोआले खेलको ७४अौं मिनेटमा बराबरी गोल गर्यो। बक्स नजिकैबाट मिडफिल्डर फिलिपे मेलेगोनिले दायाँ खुट्टाले गरेको प्रहारले टप कर्नर चुमेको थियो।
निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा टुंगिएपछि खेलमा ३० मिनेट अतिरिक्त समयको रुपमा थप गरिएको थियो। अतिरिक्त समयको १०४अौं मिनेटमा युभेले पुन: अग्रता बनायो।
मोराटाको पासमा हाम्जा राफियाले गोल गर्दै युभेको जित सुनिश्चित गरिदिएका थिए। अब युभेको क्वाटरफाइनलको प्रतिस्पर्धि ‘ड्र’ मार्फत टुंगो लाग्नेछ।
जेनोआ भने कोप्पा इटालीयाको ‘अन्तिम १६’ बाट बाहिरिएको छ।