सेभिया विरुद्ध एट्लेटिको को महत्त्वपूर्ण जित
1 min read
स्पेनको लालिगा फुटबलमा डिएगो सिमिओनेको एट्लेटिको मड्रिडले महत्त्वपूर्ण जित निकालेको छ। एट्लेटिकोले गय राती घरेलु मैदानमा सेभिया माथि २-० गोलको जित हात पारेको हो।
खेलमा एन्जल कोरेयाको गोल मार्फत एट्लेटिकोले सुरुवाती अग्रता बनायो। कोरेयाले किरन ट्रिपियरको पासमा बक्स भित्रबाट लिएको ‘लो सट’ जोगाउने सेभियाका गोलरक्षक बोनोलाई कुनैपनि मौका थिएन।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको एट्लेटिकोले अग्रता दोब्बर बनाउन खेलको ७६अौं मिनेटसम्म कुर्नुपर्यो।
खेलको ७६अौं मिनेटमा मार्कस योरेन्टेको पासमार्फत सेभियाले दिएको स्पेसलाई सदुपयोग गर्दै साउल निग्वेजले बक्सको लाइनबाट गरेको प्रहार उत्कृष्ट रुपमा गोलमा परिणत भएको थियो।
खेलमा ६७% बल पोसेसन आफ्नो पक्षमा पारेतापनि सेभिया एट्लेटिकोको रक्षापंक्ति अगाडि फितलो नै सावित भयो। यस् जितसँगै लिग लिडर एट्लेटिकोले १६ खेलबाट ४१ अंक बटुलेको छ।
एट्लेटिको दुई खेल कम खेल्दै दोस्रो स्थानको रियल मड्रिड भन्दा चार अंक अघि रहेको छ। यता १७ खेलबाट ३० अंक बटुलेको सेभिया तालिकाको छैटौं स्थानमा रहेको छ।